काठमाडौं २४ मंसिर । भ्रष्टाचार विरुद्धको सहकार्यः सुशासनको लागि अपरिहार्य’ भन्ने नाराका साथ भ्रष्टाचार विरूद्धको अन्तर्रािष्ट्रय दिवस २०१८ विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको संयुक्त आयोजनामा आयोगको सभाहलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा सम्बोधन गर्दै सबै जिम्मेवार पदाधिकारीहरूले आत्म अनुशासन कायम गरी जवाफदेही ढंगले कार्य गरे भ्रष्टाचार नियन्त्रण हुने बताए ।
उनले मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक नीति र संरचना विद्यमान रहेको बताउँदै मुलुकलाई समृद्ध बनाउने उपयुक्त अवसर रहेको समेत बताए ।
उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कार्यबाट सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने बताउँदै आगामी दिनमा आयोग अझै क्रियाशील भएर भ्रष्टाचार नियन्त्रणको कार्यमा सफल हुने विश्वास पनि व्यक्त गरेका थिए । ‘म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न’ भन्ने आफ्नो प्रतिवद्धता दोहोराउँदै उनले भ्रष्टाचार हुन नदिन शून्य सहनशीलताको नीतिलाई निर्मम ढंगले कार्यान्वयन गरिने बताएका थिए ।

कार्यक्रममा अध्यक्ष तथा आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले राज्यको सामाजिक पद्धतिको उपपद्धतिको रूपमा रहेको भ्रष्टाचारलाई निर्मम प्रहार गर्नुपर्ने आवश्यकता औंल्याउँदै घर, परिवार, समाज र शिक्षणसंस्थाबाट सदाचारिताको विकास हुनुपर्ने कुरामा जोड दिनुभयो। वहाँले सार्वजनिक खरिद, विकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा हुने भ्रष्टाचारको नियन्त्रणका लागि आयोगले गरेका प्रयासहरूको चर्चा गर्दै आयोगले गरेका निरोधात्मक र प्रवर्द्धनात्मक कार्यमा सबै सरोकारवालाको सहयोग र सहकार्यको अपेक्षा गरे ।

प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचारले लोकतान्त्रिक संस्थाहरूको जगलाई कमजोर बनाउने भन्दै यसलाई निरूत्साहित पार्न सरकार, आयोग, नागरिक समाज, सञ्चार क्षेत्र लगायत सबै क्षेत्रको एकिकृत र समन्वयात्मक प्रयासले मात्र भ्रष्टाचार न्यूनीकरणको दिशामा सार्थक उपलब्धि प्राप्त गर्नसकिने बताए ।

सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले सुशासन र विकासको अवरोधका रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न अपरिहार्य रहेको बताउनुहुँदै यसका लागि व्यक्ति, परिवार, समाज, राष्ट्र र सिंगो अन्तराष्ट्रिय समुदाय नै एक ढिक्का हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। वहाँले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई नेपाल सरकारको तर्फबाट आवश्यक जुनसुकै सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अनुभूति सूचकाँकमा नेपाल पछाडि परेको हुँदा भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिए ।

कार्यक्रममा महालेखा परीक्षक, प्रमुख निर्वाचन आयुक्त, महान्यायाधिवक्ता, आयोगका आयुक्तहरू, नेपाल सरकारका मुख्य सचिव, सर्वोच्च अदालतका मुख्य रजिष्टार, राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत लगायत नेपाल सरकारका सचिव एवं विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी र राष्ट्रसेवक कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।