अश्विनी कोइराला
धेरैअघि कान्तिपुर परिसरमा एउटी युवती अश्विनी कोइरालालाई खोज्दै थिइन् । उनको ब्यागमा पट्याएर राखेको एक समयको चर्चित ‘साप्ताहिक’ थियो । त्यसको कभरमै मनोकामना, बगालामुखि र सिद्धि विनायक जस्ता मन्दिरमा युवा–युवतीको भिड किन लाग्छ ? अध्यात्ममा रुची नराख्ने यो पुस्ता साच्चै धर्मका लागि आउँछ कि आफ्नो प्रेमी–प्रेमीका भेट्न ?
लामो समय लगाएर त्यो रिपोर्टिङ् गरिएको थियो । पाठकबाट त्यसको राम्रो प्रतिक्रिया पाइएको थियो ।
मन्दिरमा लाइन लागेको अवस्थामा नवराज वाग्लेले खिचेको तस्विर उनको परेछ । उनी प्रेमी भेट्न मन्दिर गएकी थिइनन् । तै पनि घरमा गाली खाइछन् । प्रेमी नभेटे पनि साप्ताहिकमा तस्विर छापिनुको खुसी उनको अनुहारमा छाएको थियो ।
अभिभावकले कुरा नबुझ्नु तर फोटो छापिएपछि साथीभाइले बधाइ दिनुको खुशीका कथा उनले विस्तारमा सुनाइन् । विदा लिनुअघि उनले एउटा रुमाल र डटपेन उपहार दिदै भनिन्, ‘रुमाल यस कारण कि यसमा मेरो आँशु छ । कुरा नबुझी मलाई अभिभावकले गाली गरे । अब फोटो छाप्दा विचार गर्नू होला । कलम यसकारण कि तपाईंहरुको गल्ती छैन । राम्रो लेख्नु भएको थियो, मन पर्यो, यो कलमले अझै राम्रो लेख्नु होला ।’
ती युवतीले मेरो प्रसंसा गरेकी थिइन् कि व्यङ्ग्य, लामो कालसम्म बुझिन । अहिले पनि बुझेको छैन । त्यो घटनापछि एक दुई डटपेन उपहार पाइयो तर रुमाल भने पाइएन । उपहारका रुपमा त्यो रुमाल पहिलो र अन्तिम थियो । केही समय यता डटपेन पनि उपहारका रुपमा पाइएको छैन । सुन्दर युवतीबाट रुमाल र डटपेन आजभोलि किन पाइदैन ? के मेरो लखाईको सौन्दर्य उडेको हो ? कि उपहार दिने मनहरु साँघुरा भएका हुन् ? चिन्तन गर्दै जाँदा केही तथ्यहरु फेला परे ।
एक
बा–आमाका पालमा ‘कुसुमे रुमाल’ निकै हिट चलचित्र थियो । यो चलचित्र सयौं हप्ता लागेको थियो रे । त्यो बेला प्रेमको चिनो स्वरुप यहि कुसुमे रुमाल उपहार दिने चलन ब्यापक थियो । पुराना हिन्दी–नेपाली चलचित्रमा कतै न कतै रुमालले घाउ बाँधिदिएको, रुमालले आँशु पुछेका दृष्य पनि सामान्य देखिन्थे । आजभोलि फ्याक्ट्रीले रुमालको उत्पादन बन्द गरेका छैनन् । तै पनि रुमाल उपहार दिने चलनमा ब्यापक कटौति भएको छ ।
खास कारण आजभोलि प्रेमीको बिरहमा रुने आँशुहरु झर्न छाडेका छन् । पहिले एकपल्ट रुमाल उपहार पाएपछि दोस्रोपल्ट भेट्न सकिदैनथ्यो । त्यही रुमाल च्याप्यो, आँशु झार्यो र त्यसैले पुछ्यो…। तुरुन्तै भेट्ने, कुराकानी गर्ने, आफ्ना पीडा पोख्ने अरु कुनै सामग्री थिएनन् । आफै कल्पियो, रोयो र रुमालले आँशु पुछ्यो । यस्तो लाग्थ्यो, अाँशु पुछ्नकै लागि प्रेमी–प्रेमीकाले रुमाल उपहार पाएका हुन् ।
आजभोली रेष्टुराँमा न्यापकिन राखिन्छ । प्रेमीलाई आँशु देखाउनै परे रेष्टुरेन्टमा बोलायो । एकछिन रोयो त्यहि न्यापकिनले आँशु पुछ्यो । त्यसपछि प्रेम सकियो । प्रेम नै नरहे पछि कल्पिकल्पी रुनुपर्ने आवश्वकता पनि परेन । अलि बढि पीडा भयो भने फेसबुकमा सन्देश लेख्यो, म्यासेज बक्समा गएर गाली गर्यो । कुरै खत्तम ।
दुई
आजभोली एकले अर्कालाई डटपेन वा डायरी उपहार दिने चलन छैन । आजभोली कलमले लेख्नुपर्ने आवश्यकता पनि छैन । अब लामो कुरा लेख्नुपरे ल्यापटप, छोटो सन्देश लेख्नुपरे ट्याबलेट वा मोवाइल छदैछ । पहिले बोल्न प्रतिबन्ध थियो, लोकलाज बढि थियो । चिठ्ठीको समय थियो ।
समाजको मर्यादा र कठोर बन्धन थिए । त्यसैले आँशुले दु:खका कुरा भन्थे, आँशुले नै खुशीका फोहोरा छुटाउँथे । आजका कुरा एसएमएसले भन्छ, मेलले भन्छ । फेसबुक–ट्वीटरले भन्छ । आजभोली रियल आँशु झार्नेपर्दैन, गुगलले आशुँ झारेका तस्विर, स्केच करोडौंको संख्यामा राखिदिएको छदैछ…।
समय परिवर्तन भैसक्यो । भावना पनि परिवर्तन भयो । यहि कारण रुमालको स्थान न्यापकिनले लियो । कलमको स्थान मोबाइलले लियो !
(फेसबुकबाट, कोइराला प्रेमालय उपन्यासका लेखक पनि हुन्)








