काठमाडौँ, २ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकार आप्रवासीको मर्यादित जीवन र सम्मानपूर्ण कामको वातावरण निर्माणका लागि क्रियाशील रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवस–२०१८ को शुभकामना सन्देश दिँदै उनले आप्रवासी नेपाली श्रमिकको हितलाई ध्यानमा राखेर वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, सरल तथा प्रतिफलमुखी बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधार गरेको बताए ।

‘‘श्रमिक र रोजगारदाताको सम्बन्धलाई सुमधुर बनाउँदै श्रमिकको जीवनलाई गुणस्तरीय बनाउन सरकारको तर्फबाट महत्वपूर्ण पहल भएको छ’’ उनको शुभकामना सन्देशमा भनिएको छ, ‘‘सरकारले श्रममैत्री वातावरण निर्माण गर्न नयाँ श्रम ऐन तथा नियमावली जारी गरी कार्यान्वयनमा ल्याएको छ ।’’

उहाँले नेपालमा पहिलो पटक श्रमिकको सामाजिक सुरक्षालाई बलियो बनाउन सामाजिक सुरक्षा योजना लागू गरिएको भन्दै सरकारले बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्यसहित थप रोजगारी सिर्जना गर्न देशव्यापी रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्ने जानकारी सन्देशमा गराए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।