काठमाडौं १७ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङद्वारा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्ने समेत बताएका छन् । “नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्छ । लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छ,” उनले कार्यक्रममा भने ।
धर्म र राजनीतिक अलग अलग विषय भएपनि पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको समेत उनले उल्लेख गरेका थिए ।
उनले काङ्ग्रेस धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने पार्टी भएको समेत विचार राखे ।
उनले पार्टीको १४ औं महाधिवेशन समयमै हुनुपर्ने बताएका छन् । काङ्ग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने उनको भनाई छ ।