फागुन ७ । सहकर्मीको हत्या गरेको अभियोगमा इराकको जेलमा विगत पाँच वर्षदेखि सजाय भोगिरहेका तीन नेपालीलाई इराकका राष्ट्रपतिले विशेष क्षमादान (स्पेसल एमनेस्टी) दिएका छन्।

इराकको सर्वोच्च अदालतको फैसलापछि कुर्दिस्तानको फोर्ट सुसे कारागारमा रहेका पराकाट्ने ८ बझाङका प्रेमबहादुर सिंह, चैनपुर २ धादिङका राजाराम खकुरेल र बुङताङ २ नुवाकोटका जितबहादुर तामाङलाई कार्यवाहक राष्ट्रपति खोदायर अल खोजाईले मंगलबार क्षमादान दिएको खबर अन्नपूर्णमा छापिएको छ ।

क्षमादान पाएलगत्तै उनीहरूलाई बगदादबाट काठमाडौं पठाइएको पाकिस्तानस्थित नेपाली दूतावासले जनाएको छ। उनीहरूमाथि नेपाली सहकर्मीको हत्या अभियोग लागेको थियो। पछिल्लोपटक त्यहाँको सर्वोच्च अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो।

निरन्तर कूटनीतिक प्रयासपछि यो सफलता मिलेको इराकसमेत हेर्ने पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौडेलले बताए। उनले टेलिफोनमा भने, ‘इराकमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन गएको समयदेखि लगातार प्रयास गरेको थिएँ।’

इराकको कानुनअनुसार उनीहरूलाई विशेष क्षमादान गरिदिन एक वर्षअघि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले इराकका समकक्षी मोहम्मद नुरी अल मलिकीलाई पत्र लेखेका थिए।

गत भदौमा राजदूत पौडेलले ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमक्ष क्षमादानका लागि विशेष अनुरोध गरेका थिए। इराकमा धेरै नेपाली कार्यरत रहेको र उनीहरूको हकहित र सुरक्षाका लागि पहल गरिरहेको पौडेलले जानकारी दिए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।