काठमाडौं २३ पुस । प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराले नवनियुक्त उच्च अदालतका मुख्य न्यायाधीश सुष्मालता माथेमालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
सर्वोच्च अदालतमा सोमबार आयोजित एक समारोहका बीच नव नियुत्त मुख्य न्यायाधीश माथेमालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
गत १९ पुसमा न्याय परिषद्को बैठकले माथेमालाई उच्च अदालतको मुख्य न्यायाधीशका लागि प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको थियो । माथेमालाई नेपालको संविधान, २०७२ को धारा १४० को उपधारा (१) बमोजिम प्रधानन्यायाधीशले नियुक्त गरेका हुन् । प्रधानन्यायाधीश जबराले न्यायपरिषद्ले सिफारिस गरे लगत्तै ०७५ पौष २० गते नै नियुक्त गरी उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा पदस्थापना गरेका थिए ।
सपथ ग्रहण समारोहमा कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल सर्वोच्च अदालतका न्यायाधीशहरु, न्यायपरिषद्का माननीय सदस्य, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, उच्च अदालतका मुख्य न्यायाधीशहरु, सर्वोच्च अदालतका रजिष्ट्रार तथा सह रजिष्ट्रार हरुको उपस्थिती थियो ।
सोमबार नै उच्च अदालतका मुख्य न्यायाधीशज्यूहरु र उच्च अदालत मात हतका इजलासमा मुख्य भई काम गर्ने न्यायाधीशहरुसँग मुद्दाको काम कारबाहीमा हालसम्मको प्रगति समिक्षा सहितको अन्तरक्रिया र छलफल कार्यक्रम भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले न्याय नपाएर छटपटिएका मान्छेहरु अदालत पुगेपछि न्याय पाईन्छ भन्ने विश्वास दिलाउनु आजको आवश्यकता रहेको बताएका छन् । उनले न्यायालयलाई सुदृढ बनाउन राज्यबाट गर्ने काममा सरकारबाट पूर्ण सहयोग हुने बताउँदै न्यायपालिकाको गरिमालाई असर पुग्नेगरी सरकारबाट हस्तक्षेत्र, आग्रह, पूर्वाग्रह नगरेको स्पष्ट पारे ।

कार्यक्रममा प्रधानन्यायाधीश जबराले न्यायपालिकाको सवालमा अहिले जति कुराहरु उठिरहेका छन त्यसलाई समग्रमा निराकरण गर्ने समय आएको बताएका थिए । उनले स्वतन्त्र र सक्षम न्यायपालिकाको अवधारणालाई सहि मार्गमा लैजान, अदालतप्रति ठडिएको औंलालाई सम्बोधन गर्न अधिकार भन्दा कर्तब्यलाई बढि जोड दिन मुख्यन्यायाधीशहरुलाई निर्देशन दिएका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।