काठमाडौं २३ पुस । सरकारले केही दिन अघि मात्र सांसद रेशम चौधरीलाई सपथ गराउने व्यवस्था गर्यो, संसदले त्यसलाई मानिदियो, सभामुख कृष्णबहादुर महराले सपथ समेत खुवाए । तर, सर्वोच्चले भने उनलाई जेल बाहिर निस्कन नमिल्ने आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई जेलमुक्त गर्न अस्वीकार गरिदिएको हो । केही दिन अघि मात्र सभामुख कृष्णबहादुर महराले सांसदको रुपमा उनलाई पद तथा गोपनियताको सपथ खुवाए पनि सर्वोच्च अदालतले उनलाई रिहा नगर्न आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सोमबार उनलाई रिहा गर्न अस्वीकार गरेको हो । सर्वोच्चले चौधरीलाई कानुन अनुसार कारबाही गर्न पनि आदेश दिएको छ ।

कैलाली जिल्ला अदालतले चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको आदेशविरुद्ध चौधरी ५ असार २०७५ गते सर्वोच्च पुगेका थिए । सोमबार फैसला गर्दै सर्वोच्चले उच्च अदालतको आदेशलाई नै सदर गरेको हो ।

‘प्रतिवादी रेशमलाल चौधरीले आरोपित कुसर गरेको भनी विश्वास सकिने पर्याप्त र मनासिव आधार विद्यमान रहेको देखिँदा निजलाई पछि ठहरेबमोजिम हुने गरी मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी भएको सुरु कैलाली जिल्ला अदालतको मिति २०७४/११/१४ को आदेश सदर गरेको उच्च अदालत दिपालयको मिति २०७४/१२/२२ को आदेश मनासिव नै देखिँदा सो आदेशलाइ्र्र अन्यथा परिवर्तन गरिरहन परेन ।’ आदेशमा भनिएको छ ।

जाहेरीकर्ताले चौधरीविरुद्ध किटानी पोल गरेको र अन्य अभियुक्तहरुले बयानमा पनि चौधरीको निर्देशनमा घटनामा संलग्न भएको बयान दिएका थिए ।
गत १९ पुसमा डिल्लीबजार कारागारबाट चौधरीलाई सिंहदरबारमा सभामुख महराले पद तथा गोपनियताको सपथ गराएका थिए । सपथपछि उनलाई पुनः डिल्लीबजार कारागारमै लगिएको थियो । चौधरी मंसिर २०७४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । टिकापुर घटनापछि फरार रहेका चौधरीले सार्वजनिक नभईकनै प्रतिनिधिसभामा उम्मेदवारी दिएका थिए ।

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा एक नाबालक र सात प्रहरीको हत्या भएको मुद्दामा सांसद चौधरीसहित २६ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ । यही मुद्दामा लक्ष्मण थारु सहित २३ जना जिल्ला कारागार कैलाली र १ जना नाबालक पोखरास्थित बाल सुधार गृहमा छन् ।
चौधरी भने निर्वाचनमा विजयी भए पनि शपथ लिन पाएका थिएनन् । गत असारमा उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । आत्मसमर्पण गरेका चौधरीलाई प्रहरीले कारागारमा राखेको थियो । त्यसपछि उनलाई काठमाडौंस्थित डिल्लीबजार कारागारमा ल्याइएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।