बिनाविभागीय मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता हुनुपर्ने बताए । प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएको स्पष्ट पारेका छन् । 
वाम गठबन्धनलाई फुटाउने षडयन्त्र पनि भइरहेको प्रसंग उल्लेख गर्दै उनले वाम गठबन्धनबाहेकको सरकार जनादेश विपरीत हुने उल्लेख गरेका छन् । निर्वाचनको परिणाम आइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजनीतिक र नैतिक दृष्टिकोणले राजीनामा गर्नुपर्ने माग गरेका छन् । 
राष्ट्रियसभाको अध्यादेशको सन्दर्भमा उनले प्रमुख राजनीतिक दलहरु मिलेर यस समस्याको समाधान गर्नुपर्ने र दलहरुकै सहमतिमा गभर्नरको पनि नियुक्ति हुनुपर्ने विषयमा जोड दिएका छन्। 
मधेशलाई द्वन्द्वको थलो बन्न नदिनका लागि मधेशको समृद्धिका लागि ठोस रुपमा विकास निर्माणलगायतका कार्य गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । 
सामाजिक न्याय, समानता, समृद्धि र समाजवादका नयाँ नीतिका साथ मुलुकको विकासमा आउँदो सरकारले कार्य गर्ने उल्लेख गर्दै उनले जनताले सुविधा र सुरक्षा, स्थिरतासमेत खोजेकाले वाम गठबन्धनको ‘प्रगतिशील एजेण्डा’लाई कार्यान्वयन गर्न जनादेश दिएको पनि उनले बताए । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।