काठमाडौं १८ माघ । प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरा झनै खरो रुपमा उत्रिएका छन् । न्यायालयभित्रका विसंगति विरुद्ध उनी कडा रुपमा उत्रिएका हुन् ।
केही समय अघि मात्र मुख्य न्यायाधीससहितलाई कारबाहीका लागि छानबिन सुरु भइसकेको अवस्थामा पुनः चार न्यायाधीशमाथि स्पष्टिकरण सोधिएको छ ।
न्याय परिषद्ले न्याय कार्यसम्पादनमा बदनियत देखिएको उजुरीका आधारमा चार न्यायाधीशलाई स्पष्टीकरण सोधेको हो ।

न्यायपालिकाको शुद्धीकरण अभियानक्रममा परिषद्ले तनहुँ जिल्ला न्यायाधीश ओमकार उपाध्याय, ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वङ्गल आत्रेय, सर्लाहीका जिल्ला न्यायाधीश राजेश काफ्ले र भक्तपुरका जिल्ला न्यायाधीश मोहम्मद जुनैद आजादलाई सात दिने लिखित स्पष्टीकरण सोधेको हो । परिषद्ले ती न्यायाधीशले न्याय सम्पादन गर्दाको कार्यसम्पादनका विषयमा जाँचबुझ गर्न सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराइको संयोजकत्वमा तीन सदस्सीय कमिटी गठन गरेको छ ।

सदस्यमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गाना र उच्च अदालत न्यायाधीश टेकप्रसाद ढुङ्गाना रहेका छन् । परिषद्को मङ्गलबारको बैठकले ती न्यायाधीशले बदनियतपूर्वक काम गरेको हुँदा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यसअघि पनि परिषद्ले न्यायाधीशले वदनियतपूर्वक काम गरेको आरोपमा केही न्यायाधीशलाई काज सरुवा गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।