काठमाडौं । सुन्दा अनौठो लाग्न सक्छ, अस्थायी शिक्षकको लागि लिइएको आन्तरिक परीक्षामा स्थायी शिक्षक । यस्तै भएको छ शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने परिक्षामा ।
तत्कालीन निम्न माध्यमिक (अहिले आधारभुत) तहमा स्थायी पदमा कार्यरत मुलुकभरका ५३ जना शिक्षक अस्थायी शिक्षकका लागि मात्र लिइएको परिक्षामा सहभागी भएका छन् । शिक्षक सेवा आयोगका अनुसार ती सबैले माध्यमिक तहमा नियुक्तिका लागि परिक्षा दिएका हुन् । तर अस्थायी शिक्षकको लागि लिइएको परिक्षामा स्थायी शिक्षकले प्रतिस्पर्धा गरेको थाहापाएपछि आयोगले उनीहरुको उत्तरपुस्तिका परीक्षण नगरी अस्थायीका उत्तरपुस्तिका मात्र परीक्षण गर्यो ।, आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।
अस्थायी शिक्षकका मात्र उत्तरपुस्तिका परीक्षण सकेर आयोगले लिखित परिक्षाको नतिजा सार्वजनिक गरिसकेको छ । तर आयोगले आफुहरुको उत्तरपुस्तिका परीक्षण नगरेर अन्यायमा पारेको दाबीसहित उनीहरु कानुनी उपचारका लागि सर्वोच्च अदालत गए ।