काठमाडौं ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचार गर्नेको मुख समेत हेर्दिन भनेको धेरै दिन बितेको छैन । भ्रष्टचारीको मुखसम्म हेर्दिन भन्ने तिनै प्रधानमन्त्री ओली विगत चार महिनादेखि भ्रष्टचारीकै आसपासमा रहेको र भ्रष्टचार गर्नेलाई कारबाही समेत नगरेको खुलेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले करोडौं मोलमोलाई गरेको भिडियो प्रधानमन्त्री ओलीले चार महिना अघि नै हेरेर पनि चुप लागेको खुलेको हो । साँघु साप्ताहिकले गत १२ कात्तिकमा नै पाठकले लाखौंको मोलमोलाई गरेको भिडियो प्रधानमन्त्रीले हेरिसकेको समाचार छापेको छ । ‘आयुक्त पाठकले घुस लिंदै गरेको भिडियो प्रधानमन्त्री केपी शर्मा ओली र महान्यायाधीवक्ता अग्नि खरेलसमक्ष पुगेको स्रोतले बताएको छ ।’ चार महिना अघि नै लेखेको समाचारमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले चार महिना अघि नै अख्तियारकै आयुक्तले करोडौं घुस मोलमोलाई गरेको भिडियो हेरेर पनि चुप बस्नुले उनको बोली र व्यवहारमा पनि पश्न उठेको छ ।
सामाजिक सञ्जालमा चार महिना अघि नै प्रधानमन्त्रीले भिडियो हेरेर पनि किन कारबाही गर्न चाहेनन् भनेर समेत प्रश्न उठीरहेको छ ।
पाठकले घुस मागेको भिडियोसम्बन्धी समाचार पछिल्लो समय व्यापक रुपमा आएपछि भने पाठकले राजीनामा दिएका छन् । आयुक्त जस्तो व्यक्तिले खुलेखुलाम घुस मागेको भिडियोहरु नै रहेको समाचार आउँदा पनि उनी भने राजीनामा दिएर आनन्द बसीरहेका छन् । अन्य मुलुकहरुमा भए तत्काल पक्राउ गरेर अनुसन्धान हुनुपर्नेमा पाठकलाई भने सरकारले चयन गर्न दिइरहेको छ ।