काठमाडौं २७ चैत । एक सांसदलाई मार्ने धम्की दिएर ५० लाख माग्ने एक व्यक्ति पक्राउ परेका छन् ।

झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई ५० लाख रूपैयाँ माग्दै ज्यान मार्ने धम्की दिने तिलकदास पराजुलीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

उनीसँगै हुम्लाका प्रदीप रोकायालाई पनि प्रहरीले पक्राउ गरेको छ। ब्यूरोका अनुसार पराजुलीले आफू राप्रपाको कार्यकर्ता भएको, झापाका विभिन्न कार्यक्रममा लिङ्देनसँगै हिँडेको बताएका छन्।

पराजुली मेनपावर कम्पनीमा मान्छे ओसार्ने ‘दलाल’ को रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
पराजुलीले बसपार्कमा मजदुरी काम गर्ने रोकायाको नागरिकता प्रयोग गरी सिमकार्ड किनेर सांसद लिङ्देनलाई पटक–पटक धम्की दिएका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।