काठमाडौं । पछिल्ला दिनमा केटाकेटीबीच प्रेम सम्बन्ध हुने र प्रेम टुटेपछि साइबर अपराधका मुद्धा लगाउने काम बढेर गएको छ । महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर पुगेकी एक किशोरीको पनि कथा त्यस्तै छ । लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरेपछि उनी साइबर अपराध मुद्धा चलाउन आएको बताउँदै थिइन् ।
यो त एउटा उदाहरण मात्र हो । आजभोलिका तन्नेरीहरुमा लभ हुँदासम्म भिडियो खिच्ने, तस्बीर लिने तथा अनेक कुरा च्याटमा गर्ने र पछि सम्बन्ध टुटेपछि त्यसैलाई लिएर धम्की दिने गरेका उदाहरण बढी छन् । त्यसले धेरैलाई जेलसम्म पनि पुर्याएको प्रहरीको तथ्यांकले देखाउँछ ।
साइबरसँग सम्बन्धित उजुरी लिएर पीडित प्रहरीमा दैनिक आउने गरेका छन् । घटनाको गाम्भीर्य हेरी प्रहरीले सम्झाइबुझाइ गरी पनि पठाउने गरेको छ । युवतीको अस्मितासँग गासिएका घटनामा भने मुद्दा चलाइँदै आएको महाशाखाले जनाएको छ । गत आर्थिक वर्ष प्रहरीमा साइबरसम्बन्धी २ हजार २९ उजुरी आएका थिए । सबैभन्दा बढी फेसबुकसँग सम्बन्धित थिए ।
उजुरी गर्न आउने पीडितमा सबैभन्दा बढी २० देखि ३० वर्ष उमेरका युवायुवती छन् । १ हजार ७ सय ४० मध्ये ३९.९२ प्रतिशत अर्थात् ८ सय ९ उजुरी यही उमेर समूहकाले दिएका छन् । त्यसपछि ३० देखि ४० वर्षका व्यक्ति साइबरका उजुरी लिएर महाशाखा पुग्ने गरेका छन् । सबैभन्दा कम ४० देखि ६० वर्ष उमेरका व्यक्ति पीडित देखिएका छन् ।







