काठमाडौं । एक जना गाउँपालिका अध्यक्षलाई परस्त्रीसँग खिचिएका अर्धनग्न तस्वीरले प्रहरी हिरासतसम्म पुर्याएको छ । प्युठान जिल्लाको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीलाई आइतबार प्रहरीले हिरासतमा लिएको हो ।
बहुविवाह गरेको भन्दै परस्त्रीसँग खिचिएका अर्धनग्न तस्वीरसहित उजुरी परेपछि प्रहरीले अध्यक्ष गिरी र उनकी प्रेमिका दुबैलाई हिरासतमा लिएको छ । दुई छोरीका पिता गिरी आफ्नै श्रीमतीले दिएको उजुरीका आधारमा समातिएका हुन् ।
पत्नी सीताले भदौ १० गते हुलाकमार्फत् बहुविवाहको उजुरी प्रहरीमा दायर गरेकी थिइन् । गाउँपालिका अध्यक्ष गिरीले आफूसँग प्रेममा परेकी युवतीसँग कोठाभित्र रहँदाका अर्धनग्न तस्वीरहरु आफ्नो मोबाइलमा खिचेर राखेका थिए । श्रीमती सिताले त्यसैबाट गिरीको परस्त्रीसँगको सम्बन्धको जड पत्ता लगाएकी थिइन् । गिरीले भने आफूले बहुविवाह नगरेको दाबी गर्दै आएका छन् ।