माघ १९ । बैंक तथा बित्तिय संस्थाहरुले चालु आवको दोस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । जसमध्ये आधा दर्जन भन्दा बढी कमर्सियल बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् । बिजमाण्डु डटकम लगायत विभिन्न अनलाइन तथा बैंकको प्रतिवेदन अनुसार जुन यस प्रकार छन्ः
एभरेष्टले नाफा छ प्रतिशत बढायो
दोस्रो त्रैमाशमा एभरेष्ट बैंकको नाफा ५।७० प्रतिशतले बढेर ६७ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा ६४ करोड २४ लाख रुपैयाँ थियो । बैंकको खुद व्याज आम्दानी बढेपछि नाफा वृद्धि भएको हो । बैंकको खुद व्याज आम्दानी १० प्रतिशतले बढेर एक अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अन्य आम्दानी चार प्रतिशतले घटेर १० करोड, फि , कमसिनबाट भएको आम्दानी छ प्रतिशतले घटेर १३ करोड ४२ लाखमा सिमित भएको छ ।
बैंकको बैदेशिक मुद्राको विनिमय बापत भएको आम्दानी ४२ प्रतिशतले घटेर तीन करोड ६३ लाखमा सिमित छ । बैंकले यसपटक सम्भावित जोखिम वापतको व्यवस्थामा ४२ प्रतिशतले घटाएर तीन करोड ९७ लाख रुपैयाँ छुट्याएको छ । बैंकको निक्षेपको तुलनामा कर्जा लगानीमा भएको वृद्धि केही कम छ । यही कारण कर्जा निक्षेप अनुपात भने ७९ बाट घटेर ७८ मा सिमित भएको छ । तर यो अनुपात अन्य बैंकहरुको भन्दा उच्च छ । यसले बैंकले कर्जा लगानी बिस्तार गर्न सकेको देखाउँछ । राष्ट्र बैंकले यस्तो अनुपात ८० मा कायम गर्न बैंकहरुलाई निर्देशन दिएको छ । कर्जा १३ प्रतिशतले बढेर ४७ अर्ब ९६ करोड, निक्षेप २१ प्रतिशतले बढेर ५९ अर्ब ९२ करोड भएको छ ।
सिद्धार्थको नाफा शतप्रतिशत वृद्धि
दोस्रो त्रैमाशमा सिद्धार्थ बैंकको नाफा एक सय आठ प्रतिशतले बढेर २४ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा ११ करोड ६१ लाख रुपैयाँ थियो । बैंकको अन्य आम्दानी, खुद व्याज आम्दानी, फि कमिसनबाट भएको आम्दानी बढेपछि नाफा वृद्धि भएको हो । बैंकको अन्य आम्दानी ८० प्रतिशतले बढेर १३ करोड ५५ लाख, फि , कमसिनबाट भएको आम्दानी ६० प्रतिशतले बढेर आठ करोड ६० लाख, खुद व्याज आम्दानी १८ प्रतिशतले बढेर ५५ करोड ९२ लाख रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो पटक सम्भावित जोखिम व्यवस्थाबापत राखेको ८१ लाख रुपैयाँ फिर्ता गरेको छ ।
बैंकको बैदेशिक मुद्राको बिनमय बापत भएको आम्दानी १० प्रतिशतले घटेर सात करोड २८ लाखमा सिमित छ । बैंकले यसपटक सम्भावित जोखिम वापतको व्यवस्थामा २३ प्रतिशतले घटाएर १७ करोड एक लाख रुपैयाँ छुट्याएको छ । बैंकको निक्षेपको तुलनामा कर्जा लगानीमा भएको वृद्धि केही कम छ ।
एनएमबीको नाफा १९ प्रतिशतले बढ्यो
दोस्रो त्रैमाशमा एनएमबी बैंकको नाफा १९ प्रतिशतले बढेर १९ करोड ७७ लाख रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा १६ करोड ५५ लाख रुपैयाँ थियो । बैंकको अन्य आम्दानी, खुद व्याज आम्दानी, फि कमिसनबाट भएको आम्दानी बढेपछि र सम्भावित जोखिम बापत यसअघिको व्यवस्थाबाट रकम फिर्ता आएपछि नाफा वृद्धि भएको हो । बैंकको अन्य आम्दानी ६८ प्रतिशतले बढेर चार करोड ९६ लाख, फि , कमसिनबाट भएको आम्दानी ६४ प्रतिशतले बढेर तीन करोड ३२ लाख, खुद व्याज आम्दानी दुई प्रतिशतले बढेर ३६ करोड १२ लाख रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो पटक सम्भावित जोखिम व्यवस्थाबापत राखेको पाँच करोड ७८ लाख रुपैयाँ फिर्ता गरेको छ । यस्तो फिर्ता रकम अघिल्लो अवधिको भन्दा एक सय ७७ प्रतिशतले बढि हो ।
नेपाल इन्भेष्टमेन्टको नाफा पाँच प्रतिशतले बढ्यो
दोस्रो त्रैमाशमा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा पाँच प्रतिशतले बढेर ९४ करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा ८९ करोड १२ लाख रुपैयाँ थियो । बैंकको खुद व्याज आम्दानी केही घटेपनि अन्य आम्दानी, फि कमिसनबाट भएको आम्दानी बढेपछि र सम्भावित जोखिम बापत यसअघिको व्यवस्थाबाट रकम फिर्ता आएपछि नाफा वृद्धि भएको हो । बैंकको अन्य आम्दानी ५६ प्रतिशतले बढेर १२ करोड ३२ लाख, फि , कमसिनबाट भएको आम्दानी २८ प्रतिशतले बढेर २० करोड ९९ लाख रुपैयाँ पुगेको छ । तर खुद व्याज आम्दानी दुई प्रतिशतले घटेर एक अर्ब ४१ करोडमा रुपैयाँ सिमित छ ।
बैंक अफ काठमाण्डुको नाफा १७ प्रतिशतले घट्यो
चालु आव २०७०र७१ मा बैंक अफ काठमाण्डुको नाफा १७ प्रतिशतले घटेर २५ करोडमा सिमित भएको छ । बैंकको व्याज आम्दानी तीन प्रतिशतले घटेपछि र सम्भावित जोखिम वापतको व्यवस्ता १८ प्रतिशतले बढेपछि नाफामा असर परेको हो । बैंकको व्याज आम्दानी ६० करोड रुपैयाँबाट घटेर ५८ करोड रुपैयाँमा सिमित भएको छ । बैंकले सम्भावित जोखिम वापतको व्यवस्थामा सात करोड रुपैयाँ छुट्याएको छ ।
मेलम्ची खानेपानी आयोजना निर्माणको क्रममा चिनिया ठेकेदार कम्पनीलाई दिएको बैंक ग्यारेण्टी बापत बैंक अफ काठमाण्डूले हालै मात्र राष्ट्र बैंकमा ८५ करोड रुपैयाँ जम्मा गरेको छ । बैंकले दिनुपर्ने क्षतिपुर्ती सम्बन्धमा भने मुद्धाको फैसला भएको छैन् ।
कमर्जको नाफा एक करोड रुपैयाँमा सिमित
चालु आवमा कमर्ज एण्ड ट्रष्टको नाफा ६४ प्रतिशतले घटेर एक करोड ४५ लाख रुपैयाँमा सिमित भएको छ । बैंकको व्याज आम्दानीमा सामान्य सुधार भएपनि सम्भावित जोखिम बापतको व्यवस्था र प्रसाशनिक खर्च बढेको कारण नाफा घटेको हो । बैंकको व्याज आम्दानी ०।३४ प्रतिशतले बढेर १३ करोड ८४ लाख रुपैयाँ भएको छ । बैंकले सम्भावित जोखिम वापतको व्यवस्थामा सात करोड ३४ लाख रुपैयाँ छुट्याएको छ ।
बैंकले बिदेशी मुद्राको बिनिमयबाट दुई करोड, फि कमिसनबाट एक करोड ५० रुपैयाँ कमाएको छ । त्यस्तै बैंकको निक्षेप संकलन २७ प्रतिशतले बढेर १० अर्ब रुपैयाँ पुगेको छ । बैंकको कर्जा लगानी पनि ३० प्रतिशतले बढेर १० अर्ब रुपैयाँ भएको छ । बैंकको कुल कर्जामध्ये ५।७४ प्रतिशत रियल स्टेटमा रहेको छ ।
छ महिनामै ग्लोबल बैंकको नाफा ५३ करोड माथि
ग्लोबल आईएमई बैंकले नाफामा उल्लेख्य बृद्धि गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अथवा साउन देखि पुससम्मको अवधिमा ५३ करोड २८ लाख रुपैंया खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको दोस्रो त्रैमासिक अवधिको तुलनामा दोब्बर भन्दा बढी हो । गत वर्षको दोस्रो त्रैमासिक अवधिमा बैंकले २४ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । दोस्रो त्रैमासले बैंकले आर्थिक वर्षभरिमा गर्ने खुद नाफाको दरलाई संकेत गर्छ । यो दर कायम रहे बैंकले चालु आर्थिक वर्षमा खुद नाफा एक अर्ब रुपैयाँ नघाउन सक्ने देखिएको छ । अर्को त्रैमासिक अवधिमा ग्लोबल आईएमई र कमर्ज एण्ड ट्रष्ट बैंक गाभिइसक्ने भएकोले पनि नाफा एक अर्व नाघ्छ । गत आर्थिक वर्षमा बैंकले ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
सानिमाको नाफा ५० प्रतिशत बढ्यो
सानिमा बैंकले खुद नाफा करिब ५० प्रतिसतले बढाएको छ । बैंकले दोस्रो त्रैमाससम्म १९ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिमा बैंकले १३ करोड पाँच लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस वर्षको पहिलो त्रैमासमा बैंकले आठ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकमा १९ अर्ब ८८ करोड निक्षेप छ भने १७ अर्ब १७ करोड कर्जा लगानी गरेको छ ।
बैंकले दोस्रो त्रैमाससम्म ३६ करोड २७ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । त्यस्तै विदेशी मुद्राको कारोबारबाट सात करोड ५९ लाख रुपैयाँ कमाएको छ ।
किष्ट बैंक १९ करोड नोक्सानमा
दोस्रो त्रैमाशमा किष्ट बैंकको नोक्सान १९ करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा बैंक छ करोड नोक्सानमा थियो । बैंकको खुद व्याज आम्दानी २४ प्रतिशतले घटेको छ । बैंकको यस्तो आम्दानी ३५ करोड ५४ लाख रुपैयाँ छ ।
अन्य आम्दानी तीन करोड ५० लाख छ भने फि कमिसनबाट भएको आम्दानी २३ प्रतिशतले बढेर तीन करोड ९० लाख रुपैया पुगेको छ । सम्भावित जोखिम बापत यसअघिको व्यवस्थाबाट बैंकले १३ करोड रुपैयाँ फिर्ता ल्याएको छ ।
बैंकको बैदेशिक मुद्राको बिनमय बापत भएको आम्दानी एक करोड ५७ लाख कमाएको छ । बैंकले यसपटक सम्भावित जोखिम वापतको व्यवस्थामा भने ४९ प्रतिशतले रकम बढाएर ५६ करोड ६९ लाख रुपैयाँ छुट्याएको छ ।
Comments