काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार बनेको डेढ वर्षमै इतिहासकै धेरै भ्रष्टाचार भएको आरोप लगाएका छन् ।
वाइड बडी खरिद, सुन काण्डलगायतमा प्रमुख प्रतिपक्षी दलले छानविनमा सघाउने पटकपटक प्रतिवद्धता जनाए पनि सरकारले ठूला भ्रष्टाचार काण्डको छानविन नगरेको देउवाले बताए ।

देउवाले दुई तिहाइ बहुमत भए पनि डेढ वर्षको कार्य मूल्याङ्कनबाट सरकार असफल भएको आरोप लगाए । सङ्घीय संसद्को चौथो अधिवेशन समापनका अवसरमा प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले मुलुक र जनताको हितमा काम गर्नुपर्नेमा सरकार अधिकारको दुरुपयोग गर्नेतर्फ उद्दत भएको टिप्पणी समेत गरे ।
सभापति देउवाले भने, “जनतामा असन्तुष्टि बढ्नुमा अलोकतान्त्रिक विधेयकको भूमिका छ, संविधानको मर्म र भावना तथा शक्तिपृथकीकरणको सिद्धान्त विपरीत सरकार एकपछि अर्को गर्दै संवैधानिक अङ्गका रुपमा रहेका न्यायपालिका र मानवअधिकार आयोगमाथि हस्तक्षेप गरेको छ ।” मुलुकमा सुशासन प्रदान गर्ने र विकासका आयोजनालाई अघि बढाउने सिलसिलामा सरकारको गति निकै सुस्त देखिएको बताउँदै उहाँले भ्रष्टाचारका घटना डेढ वर्षको अवधिमा वृद्धि भएको बताए ।

संविधानले प्रदान गरेको मौलिक हकलाई कुण्ठित गर्ने, राजनीतिक आस्थाका आधारमा पत्रकार र कर्मचारीलाई सरकारले हटाउने काम गरेको उनले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।