बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले सवारीसाधनलाई प्रदेश नं २ को ८ जिल्ला छिचोल्न पाँच घण्टा २५ मिनेटको समयसीमा तोकेको छ ।

आर्थिक वर्ष २०७६/०७७ को साउन महीनामा मात्र ९२ वटा सवारी दुर्घटना भएकोमा ४५ जनाले ज्यान गुमाएपछि प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यस्तो समयसीमा तोकी ‘टाइमकार्ड’ लागू गरेको ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंहले राससलाई बताए ।

समयसीमा तोकिएपछि पश्चिमबाट पूर्वतर्फ जाने तथा पूर्वबाट पश्चिमतर्फ आउने सवारीसाधनले प्रदेश नं २ को ८ जिल्लाको २२५ किलोमिटरको बाटो पाँच घण्टा २५ मिनेटभित्र पार गरी सक्नुपर्ने नियम लागू भएको छ ।

प्रदेश नं २ को पथलैयादेखि पूर्वको भारदहसम्म २२५ किलोमिटर तय गर्दा चालक तथा यात्रुलाई सहज होस् भनेर प्रदेश नं २ को मध्य भाग लालगढमा ट्राफिक प्रहरीले बनाएको विश्रामस्थलमा १० मिनेट रोक्न सक्ने व्यवस्थासमेत मिलाइएको छ । त्यहाँ यात्रुका लागि खानपान, शौचालय, स्नानगृहसमेतको व्यवस्था मिलाइएको बताइएको छ ।

कुनै सवारीसाधन अत्यधिक गतिमा तोकिएको समयभन्दा चाँडै गएमा त्यस्तो सवारीसाधनलाई कारवाहीसमेत गरिने जनाइएको छ । ‘हाम्रो अभियान सहज र सुरक्षित ट्राफिक व्यवस्थापन’ भन्ने नाराका साथ लागू गरिएको टाइमकार्डका कारण सवारी दुर्घटनामा कमी आउने विश्वास लिइएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा एक हजार ३५२ वटा सवारी दुर्घटनामा परी ४९६ जनाले ज्यान गुमाएका थिए भने ६५६ सख्त घाइते र ९१४ सामान्य घाइते भएका थिए । सोही आवमा ६१ हजार ३७० सवारीसाधनलाई कारवाही गरी रु एक करोड ९१ लाख आठ हजार जरिवानाबापत असुल गरिएको थियो । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।