म्याग्दी । दशैँलाई लक्षित गरी मुस्ताङबाट २५ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्लाबाट ल्याइएको भेडाच्याङ्ग्रा म्याग्दी हुँदै देशका विभिन्न ठाउँमा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।

पाँच हजार भेडा र २० हजार च्याङ्गा निकासी भएको केन्द्रका प्रमुख पशु चिकित्सक नारायण कसुमले बताए । भेडाच्याङ्ग्राबाट मुस्ताङमा करीब रु ४० करोड भित्रिएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने घाँसा प्रहरी चौकीले भेडा च्याङ्ग्राको तथ्याङ्क राख्ने गरेको छ ।

पोखरा, काठमाडाँै, चितवन, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, पर्वत र म्याग्दीलगायत जिल्लामा भेडाच्याङ्ग्रा निकासी भएको उहाँले बताउनुभयो । पशु सेवा विभागले निकासी हुने भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षणका लागि पाँच जना पशु चिकित्सकलाई खटाएको थियो ।

‘भेडाच्याङग्राको स्वास्थ्य परीक्षण गरेर, स्वस्थ भएकालाई प्रमाणित गरेर मात्र बजारमा पठाइएको छ’ उनले भने ‘निकासी भएका मध्य धेरै भेडाच्याङ्ग्रा मुस्ताङका कृषकले पालेका हुन् ।’

खाद्य संस्थानले दुई हजार भेडाच्याङ्ग्रा काठमाडौँ लगेको छ । मुस्ताङबाट हिँडाएर बेनी ल्याइएका भेडाच्याङ्ग्रा यहाँबाट ट्रकमा राखेर काठमाडौँ लगिएको हो । देशका विभिन्न ठाउँका ब्यापारीहरु भेडाच्याङ्ग्रा खरीद गर्न असोज पहिलो सातानै मुस्ताङ पुगेका थिए ।

गत वर्ष १६ हजार पाँच सय भेडाच्याङ्ग्रा निकासी भएको थियो । जसमध्ये खाद्य संस्थानले ९२५ वटा काठमाडौँ लगेको छ । प्रति रोज्जा च्याङ्ग्रा रु २५ हजारका दरले खरीद गरेको ब्यापारी दुर्गा थापाले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।