
संविधानसभाको चुनावमा पहिलो दलबाट तेस्रो स्थानमा पार्टी झरेसगै सरकार भन्दा पनि पार्टी संगठनमा ध्यान दिन नेता कार्यकर्ताबाट तिब्र दबाब आएपछि एमाओवादी सरकारमा सहभागी नहुने भएको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा मंगलबार बसेको केन्द्रीय कार्यालयको बैठकले कांग्रेस एमालेलाई सरकार निर्माण गर्न भन्दै विपक्षमा बस्ने निर्णय गरेको छ । संविधानसभा निर्वाचनको क्रममा जनतासामु गरेको प्रतिबद्धताअनुसार संविधान निर्माणमा प्रतिबद्ध भएर लाग्ने निष्कर्ष निकाल्दै सरकार दोस्रो प्राथमिकतामा रहेको बैठकले ठहर समेत गरेको छ । कार्यालयले पार्टी सरकारमा नजाने निर्णय गरेपनि केन्द्रीय समितिले भने अनुमोदन गर्न बाकी छ ।
बैठकपछि एमाओवादी नेता पोष्ट बहादुर बोगटीले आफूहरु प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने भन्दै कांग्रेस एमालेले सरकार निर्माण गरे हुने बताए । सरकार हाम्रो प्राथमिकताको विषय होइन’ नेता बोगटीले भने, कांग्रेस र एमाले मिलेर सरकार बनाए हुन्छ ।’
अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता डा. बाबुराम भट्टराई, अर्का नेता नारायणकाजी श्रेष्ठ र बोगटी सदस्य रहेको एमाओवादी कार्यालय बैठकमा संसदीय दलको नेता चयनका विषयमा पनि छलफल भएको छ ।
व्यवस्थापिका–संसद्को बैठक सुरु भइसकेको भन्दै संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक छनोट गर्ने विषयमा शिर्ष चार नेताबीच छलफल भएको हो ।
यता, दुई सातादेखि जारी केन्द्रीय समितिको बैठक अझै पनि जारी छ । मंगलबार बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले पार्टी नेतृत्वको आचरणलगायतका विषयमा कुरा उठाएका छन् ।