अर्थमन्त्री डा युवराज खतिवडाले ‘डुइङ विजिनेस–२०२०’ मा नेपालको स्थानमा सुधार आउनुमा नेपाली सरोकारवाला सहकर्मीको कडा मेहनतको प्रतिफल भएको बताएका छन् ।

अर्थमन्त्रालय र विश्व बैंक समूहको संयुक्त आयोजनामा नेपाल डुइङ विजिनेस सूचकाङ्कमा सुधार सम्बन्धमा आयोजित सम्मेलनमा मन्त्री खतिवडाले सङ्घीयता खर्चिलो व्यवस्था भन्दै शङ्का उब्जाइएको अवस्थामा यस्तो सफलता हासिल हुनु निश्चय नै खुशीको कुरा भएको बताए ।

उनले हामीले सङ्घीयता कार्यान्वयनको दोस्रो वर्षमै यो सफलता हासिल हुनुमा सङ्क्रमणकाल छोट्याउनु र एक वर्षमै दर्जनौँ कानून बन्नु पनि भएकाे बताए । यसले हामीलाई वित्तीय सङ्घीयता कार्यान्वयन गर्न प्रोत्साहित गरेको र अर्को वर्षदेखि हामीलाई समस्या नहुने पनि उनले बताए । हामीले उद्योग व्यवसायका लागि सडक पहुँच र बिजुली पु¥याएका छौँ, भन्सारका पूर्वाधारमा सुधार गरेको अर्थमन्त्री खतिवडाले बताए ।

कार्यक्रममा विश्व बैंक समूहका देशीय निर्देशक फरिस एच हदाद जर्भोसले नेपालले डुइङ विजिनेसमा राम्रो सफलता हासिल गरेको र राम्रो कार्य सम्पादन गरेको तर यो यात्राको शुरुआत मात्र बताएकाे बताए । उनले नेपाल सरकारसँग यस विषयमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । “यो एउटा सुखद् समाचार हो तर पनि चुनौती अझै पनि रहेका छन्”, उनले भने । “नेपालले १६ स्थान सुधार गर्नु निश्चय नै निकै सकारात्मक कुरा हो”, उनले भने ।

प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाले नेपालको स्थान सुधार हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्पण उल्लेखनीय रहेको यसमा मन्त्रिपरिषद्ले समन्वय गरेको तथा आफूहरु सूचकको ग्याप कहाँ छ भनेर पत्ता लगाउन र सुधारका एजेण्डा स्थापित गर्न सक्षम भएको बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।