काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीपरिषद पुनर्गठन गरेसंग समर्थन र बिरोधका स्वर देखिएका छन् । गत फागुनदेखि चर्चामा रहेको विषय मन्त्री परिषद् पुनर्गठनले सार्थकता पाउदै गर्दा प्रधानमन्त्रीको उक्त कदमले आलोचना, निराशा र विरोधको स्थिति पैदा गर्यो ।
मन्त्री परिषद् पुनर्गठनसंगसंगै केही नेताहरुको नाम चर्चामा रह्यो । तर प्रधानमन्त्री ओलीले बुधबार ती नेताहरुको योगदान र राजनीतिक सक्रियताको धज्जी उडाइदिए । चर्चामा रहेका नेताहरु प्रभु साह, देवेन्द्र पौडेल, जनार्दन शर्मा, महेश बस्नेतलाई अयोग्य ठहर गरेर प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरु चयन गरे । दुई अध्यक्षको कदमको तीव्र विरोध हुन थालेको छ ।
पुर्वमाओवादीबाट मन्त्री बनाउन अध्यक्ष प्रचण्डले अनपेक्षित रुपमा नयाँ नेताहरु अगाडि सारेपछी पार्टी पङ्क्ती विचलित हुन थालेको छ । मधेशका प्रभावशाली नेता नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहलाई मन्त्री परिषदमा नसमेटिदा उनको योगदानको कदर नगरिएको आरोप पार्टी पङ्ति भित्रैबाट लागेको हो ।
विगतमा माओवादी पार्टीलाई जोगाउन महत्त्वपूर्ण भुमिका खेलेका साहमाथि अन्याय गरेको उनीहरुको आरोप छ । जनयुद्ध सफल बनाउन मधेशको भुमिबाट सबैभन्दा अग्रपंक्तिमा रहेका साहकै कारण प्रचण्डको व्यक्तित्वलाई मधेशले स्वीकारेको कुरा स्वयं प्रचण्ड आफै बताउने गरेका छन् ।
जनयुद्ध कालमा पार्टीमा लागेको सानै समयमा केन्द्रिय सदस्य बनेका साहबिना मलङवामा भएको कारवाही माओवादीका लागि असम्भव जस्तै थियो । जुन कारवाही माओवादीको सबैभन्दा ठूलो सफलता थियो । जनयुद्धमा मधेश क्षेत्रको एकलौटी कमान्ड सम्हालेका साह शान्ति सम्झौतापछि पनि निरन्तर माओवादीलाई अगाडि वढाउन लागेकै थिए ।
गौर हत्याकाण्ड, जनतान्त्रिकद्वारा आक्रमण, हिन्दुवादीहरुको आक्रमणबाट आफू र माओवादी खेमालाई जोगाउन निरन्तर लागिरहे । माओवादी निकै कमजोर रहेको सिमावर्ती क्षेत्रमा समेत निर्वाचन जिताउन सफल साहकै कारण मधेशमा माओवादी जीवन्त थियो । तर पटक पटक पार्टी नेतृत्वले अवमूल्यन गर्दा उनको मन दुखेको छ । पछिल्लो समय मन्त्रीपरिषद पुनर्गठन हुँदा उनलाई चर्चामा अगाडि सारेर अध्यक्ष प्रचण्डले पछि घात गरेपछी उनीनिकट नेता कार्यकर्ता आक्रोशित बनेका हुन ।
आन्दोलनमा लड्नेहरुलाई वेवास्ता गरि बाहिरबाट आएकालाई प्राथमिकता दिइएको र आफ्नोलाई अपनाम गरिएको भन्दै साह दुखी भएका छन् । सामाजिक सन्जाल फेसबूकमार्फत उनले लेनदेन र गुटगत स्वार्थमा लागेर मन्त्री परिषद् पुनर्गठन गरिएको आरोप समेत लगाएका छन् ।
जनार्दन शर्मा, देवेन्द्र पौडेल माओवादी जनयुद्ध देखीका नेता तथा दाहालका बिश्वास पात्र हुन् । जनयुद्धकालमा दाहाललाई सहयोग गरेका शर्मा र पौडेललाई मन्त्री बनाउँने आश्वासन दाहाल आफैले दिएका थिए ।
यस्तै महेश बस्नेत प्रधानमन्त्री ओलीका बिश्वास पात्र हुन् । पुनर्गठन हुने मन्त्रीपरिषदमा बस्नेतलाई ल्याउँने भनेर ओलीले बचन दिएका थिए । अन्तत उनी पनि पुनर्गठन हुने मन्त्रीपरिषदमा छुटे । शर्मा, साह, पौडेल, बस्नेतलाई मन्त्री बनाउँने ओली र दाहालले बचन दिए पछि निकै चर्चाको बिषय बनेको थियो । समाजिक सञ्जाल देखी मुलधारका मिडियामा यि चारै नेताको नाम मन्त्री बन्ने भन्दै अत्याधिक चर्चाको बिषय बनेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।