काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखामा रहेको आफ्नो पुख्र्यौली घर प्रबलीकरण गर्ने निश्कर्षमा पुगेका छन् । सुरक्षा, वातावरण अनुकुलता र आर्थिक हिसाबले समेत उपयुक्त हुने भएकोले २०७२ सालको भूकम्पबाट आंशिक क्षति पुगेको घर प्रबलीकरण गर्ने निश्कर्षमा पुगेको डा. भट्टराईले बताएका छन् ।

गोरखाको पालुङटार नगरपालिका–१ स्थित घरमा केही दिनअघि पुनर्निर्माण प्राधिकरण र प्रबलीकरण गर्ने संस्थाका इञ्जिनियरसँग भट्टराई परिवारले छलफल गरेका थिए ।
प्रबलीकरणका लागि प्राविधिकहरुसँग सल्लाह गरिरहेका तस्विर सामाजिक संजालमा राख्दै डा. बाबुराम भट्टराई र उनकी श्रीमती एवं पूर्वमन्त्री हिसिला यमिले यसबाट अरुलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।

डा. बाबुराम भट्टराई आफ्नो ट्वीटर तथा फेसबुक पेजमा लेखेका छन् ‘भूकम्पले चर्केको परम्परागत ढुंगा, माटो, काठले बनेको घरलाई प्रबलीकरण गर्नु सुरक्षा, वातावरण अनुकुलता र आर्थिक हिसाबले समेत उपयुक्त हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पुनर्निर्माण अधिकारीहरूका साथ पुख्र्यौली घर गोरखा पुगियो । कन्क्रिटका घर सट्टा सबैले यसो गरे कसो होला ?’ पूर्व प्रधानमन्त्री डा. भट्टराई र उनकी श्रीमती यमि दुवै जना आर्किटेक्चरल इन्जिनियर हुन् । प्रवलीकरणबाट पनि घर बलियो बनाउन सकिन्छ भनेर पुनर्निर्माण प्राधिकरणले प्राविधिक तथा निर्माणकर्मीहरुलाई तालिमलगायत सचेतनाका विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।