एमसीसी श्रीलंकामा रोकियो, नेपालमा सत्तारुढ दलभित्रै भाडभैलो

काठमाडौं । नेपालभित्र अहिले विवादको शिखरमा रहेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकामा भने तत्कालका लागि रोकिएको छ । श्रीलंकन सरकारले नेपालसँगै पाउन लागेको एमसीसीको प्रस्तावित सहयोगलाई तत्कालका लागि रोकेको हो ।

श्रीलंकन सरकारका प्रवक्ताले विस्तृत अध्ययन गरेर मात्रै निर्णय हुने बताएका छन् । उनले विज्ञ समूहले एमसीसीबारे अध्ययन गरेर मात्रै प्रक्रिया अघि बढाउने जनाएका छन् । त्यहाँको सरकारले एमसीसीबारे अध्ययन गर्न कोलम्बो विश्वविद्यालयका अर्थशास्त्र विषयका प्राध्यापक ललिथश्री गुनवारुवनको संयोजकत्वमा कार्यदल बनाएको छ । उच्च अदालतमा स्वतन्त्रता र सार्वभौमिकतामा एमसीसीले आघात पार्न सक्ने भन्दै रिट दायर भएपछि यो सहयोगका बारेमा विवाद चर्किएको थियो । श्रीलंकाको भूमि तथा यातायात व्यवस्थापनका लागि एमसीसीले ४ सय ८० मिलियन डलर सहयोग प्रदान गर्ने टुंगो भइसकेको थियो ।

नेपालका लागि ५ सय मिलियन डलर (झन्डै ५५ अर्ब रुपैयाँ) को बजेट निर्धारण गरिएको छ । तर अहिले उच्च विवादमा छ । नेकपाका नेताहरुले एमसिसी इन्डो प्यासिफिक अन्तर्गत भए नभएको बारे स्पष्ट पार्नु पर्ने बताएका छन् । कांग्रेसले भने एससिसीको समर्थन गरेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।