काठमाडौं । नयाँ सभामुख चयन गर्ने विषयमा सत्तारुढ नेकपा नै सकसमा परेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू निकटलाई सभामुख बनाएर सहजै एमसीसी पास गराउने पात्रको खोजीमा छन् । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सभामुख तत्कालिन माओवादी केन्द्रको भागमा रहेको भन्दै छाड्न नमान्दा सभामुख चयनको हलो अड्किएको हो । प्रचण्ड अहिलेकै अवस्थामा एमसीसी पास गर्न नहुने पक्षमा छन् ।
प्रधानमन्त्री ओलीले तत्कालिन सभामुख कृष्णबहादुर महरालाई तीन पटकसम्म एमसीसी अघि बढाउन आग्रह गरेको तर त्यसलाई नमान्दा नै उनी जेल जानु परेको चर्चा समेत हुने गरेको छ । महरा एक महिला कर्मचारीमाथि दुव्र्यवहारको आरोपमा पक्राउ पर्न साथ ओलीले एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै महराले एमसीसी पास नगरेर ठूलो गल्ती गरेको बताए ।
तत्कालिन माओवादी पक्षधर नेताहरुले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नहुने पक्षमा उभिएका छन् । अध्यक्ष प्रचण्ड नै एमसीसी परिमार्जन गरेर मात्र स्वीकार्ने पक्षमा छन् । ओली जसरी पनि एमसीसी पास गराउने र प्रचण्ड अहिलेकै अवस्थामा स्वीकार गर्न नसकिने अडानले पनि सभामुख चयनमा प्रभाव पारेको हो । सभामुख तत्कालिन माओवादीलाई छाड्दा एमसीसी पुनः पास नहुने हो कि भन्ने सन्त्रासमा ओली छन् भने तत्कालिन एमालेलाई सभामुख छाड्दा राज्यका संवैधानिक अंगमा आफ्नो उपस्थिति सकिने र क्रमश पेलाई खाँदै जाने तत्कालिन माओवादी पक्षधरमा सन्त्रास छ ।
ओलीको पहिलो योजना एसमीसी पास गराउने पात्रको खोजीमा रहे पनि दिर्घकालिन रुपमा आफू पार्टीभित्र अझै शक्तिशाली व्यक्ति हुने गरी आफूले भनेकै मान्छे सभामुख बनाउन लागि परेका छन् । नेकपा भित्र दुई अध्यक्ष भए पनि ओली अहिले एक नम्बरमा छन् । राष्ट्रिय सभा अध्यक्ष तत्कालिन एमालेबाटै नियुक्त भएका छन् । प्रधानमन्त्री भएकाले कार्यपालिकाको प्रमुख ओली आफैं छन् भने सभामुख अर्थात प्रतिनिधिसभाको प्रमुख पनि आफू अनुकुल बनाएर पार्टी, सरकार र दुवै सदनसम्म आफू शक्तिशाली बन्न चाहने दाउमा छन् ।
पार्टीमा ओलीपछिको दोस्रो बरियतामा रहेका प्रचण्ड तत्कालिन एमालेलाई सभामुख दिनै नसकिने अडानमा पछिल्लो पटक औपचारिक रुपमा नै प्रस्तुत भएका छन् । पूर्वमाओवादी पक्षधर नेताहरुले सभामुख पनि पूर्वएमालेबाट हुने हो भने सरकार, पार्टी र सदनबाट आत्मसर्पण गरेको बराबर हुने भन्दै प्रचण्डलाई सभामुख नछाड्न दबाब दिने गरेका छन् ।
प्रधानमन्त्री ओलीले पहिलो प्राथमिकतामा सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् । नेम्वाङमा सहमति नजुटे अहिलेकै उपसभामुखलाई सभामुख बनाउन सकिनेमा उनी सहमत हुने देखिन्छ । प्रचण्डले अग्नि सापकोटालाई पहिलो रोजाईमा राखेका छन् । सापकोटामा सहमति नजुटे पम्फा भुसाल वा अन्य कुनै पात्रमा सहमति जुटाउन तयार देखिन्छन् । तर, अहिलेसम्म कुनै सहमतिको खाका समेत बनेको देखिएको छैन ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।