सडकमा सरकारले गर्दैछ यस्तो चामत्कारिक काम

काठमाडौं । तपाईले केही दिनदेखि काठमाडौंका चोकमा ट्राफिक बत्ती बलेको देख्नु भएको होला । यो सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ल्याएको बृहत योजनाको सुरुवाती काम हो । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मको कार्ययोजना अघि सारेर काम थालेको छ ।
कार्ययोजना अनुसार उपत्यकका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिने छ भने १६ ठाउँमा नयाँ निर्माण गरिने छ । उपत्यकाका १८ पेट्रोल पम्प अन्यत्रै सारिनेछ । कोटेश्वर–जडिबुटीचोकसम्म खाली ठाउँमा सर्भिस लेन निर्माण गरिने छ भने उपत्यकाका ५१ ठाउँमा सवारी साधनलाई दायाँ मोड्न निषेध तथा १ सय २४ स्थानमा सिसिटिभी तथा मोबाइल सिसीक्यामरा जडान गरिनेछ । गत १५ पुसमा मन्त्रीपरिषदबाट पारित भएर कार्यान्वयन चरणमा पुगेको योजनाको नाम ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ दिइएको छ ।
काठमाडौं उपत्यकामा घण्टौंसम्म ट्राफिक जाम हुने गरेको छ । सर्वसाधरणले ट्राफिक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना गर्दै आएको अवस्थामा सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन मन्त्रीपरिषद बैठकबाट निर्णय नै गराएर कार्य योजना ल्याएको हो ।
कार्ययोजनामा ३७ विषयलाई उच्च प्राथमिकतामा राख्दै कुन निकायले कुन काम कहिलेसम्म गर्ने भनेर किटान गरिएको छ । कार्ययोजनामा पेट्रोलपम्प सार्ने, ट्राफिक बत्तीको मर्मत तथा नयाँ जडान गर्ने, पेडेस्ट्रिअन लाइट, खाल्डाखुल्डी पुर्ने, कोटेश्वरको जाम हटाउन विकल्प खोजिने, नदी कडिडोर निर्माण तिब्रता दिने, होर्डिङ बोर्ड र पोल हटाउने, सार्वजनिक सवारी साधनमा पिक एन्ड ड्रप प्रणाली लागू गर्ने, युटर्न गर्न नदिने, वानवे बढाउने, फुटपाथ व्यवस्थापन गर्ने, रेलिङ निर्माण गर्ने, जेब्राक्रस मर्मत तथा नयाँ निर्माण गर्ने, सडक लेनको मार्किङ गर्ने, सिसिटिभी तथा मोबाइल सिसि क्यामेरा जडान तथा मर्मत गर्ने, ओभर हेड ब्रिज निर्माण गर्नेलगायतका विषयलाई समेटिएको छ ।
सरकारले असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य राखेर अघि सारेको कार्ययोजनामा माघ मसान्तभित्र काठमाडौं उपत्यकाका सबै सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको छ । उक्त कामको जिम्मेवारी निकायमा सडक विभाग, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकालाई तोकिएको छ ।
कार्ययोजनामा उपत्यकाका २९ ठाउँमा ट्राफिक बत्ती राख्न निर्देशन गरिएको छ । काठमाडौंका १२ स्थानका भने पुसभित्र ट्राफिक बत्ती सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । बानेश्वर, सिंहदरबार, गौशाला, महाराजगन्ज चोक, कालिमाटी, तिनकुने, पद्मोदय चोक, पुतलीसडक, बागबजार, पुरानो बानेश्वर र मित्रपार्कमा रहेका ट्राफिक लाइट पुसभित्र सञ्चालनमा ल्याउन भनिएको छ । सडक विभाग, महानगरीय ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, अर्थ मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । काठमाडौं उपत्यकामा असारभित्र स्मार्ट प्रविधि सुरुआत गर्नुुपर्ने कार्ययोजनामा उल्लेख छ ।
सरकारले काठमाडौं उपत्यकाका १० ठाउँमा रहेका पेडेस्ट्रियन लाइटको मर्मत र १६ ठाउँमा नयाँ राख्ने योजना अघि सारेको छ ।
यस्तै। सरकारले काठमाडौं उपत्यकामा सञ्चालित १८ पेट्रोल पम्पलाई सार्ने भएको छ । कार्ययोजनामा नेपाल आयल निगम र सडक विभागलाई तत्कालै यो काम सुरु गर्न निर्देशन समेत दिएको छ । कार्ययोजना अनुसार निगम र विभागलाई वज्रबाराही पेट्रोल पम्प (चापागाउँ), बालकुमारी पेट्रोल पम्प (चापागाउँ), टीकाभैरव डिजेल स्टोर (चापागाउँ), कनक पेट्रोल पम्प (कालिमाटी), कोत थुकु पेट्रोल पम्प (बालाजु), जयन्ती पेट्रोल पम्प (थापाथली), मायाराम भोलाराम पेट्रोल पम्प (थापाथली), बाबा पेट्रोल पम्प (कलंकी), श्यामा पेट्रोल पम्प (कलंकी) लाई अन्यत्र सार्न निर्देशन दिएको छ । यस्तै, त्रिशूल पेट्रोल पम्प (कलंकी), भ्याली रिकेश पेट्रोल पम्प (कोटेश्वर), कामाख्या पेट्रोल पम्प (कोटेश्वर), जुबी पेट्रोल पम्प (बौद्ध), बराल पेट्रोल पम्प (बौद्ध), साझा पेट्रोल पम्प (जावलाखेल), एचपी इन्टनेसनल (जावलाखेल), गायत्री पेट्रोल पम्प (जावलाखेल) र सीता पेट्रोल पम्प (महाराजगन्ज) पनि अन्यत्र सर्ने सूचीमा छन् ।
सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन सहज गराउन भन्दै कोटेश्वरको जाम हटाउने र काठमाडौं उपत्यकाका नदी करिडोर व्यस्थित गर्ने कार्ययोजना पनि ल्याएको छ । कार्ययोजना अनुसार कोटेश्वर चोकबाट जडिबुटी चोकसम्म बायाँतिरको खाली ठाउँमा सर्भिस लेन वैशाखभित्र विस्तार गर्ने, जडिबुटी चोकमा रहेको एउटा कच्ची घरको मुआब्जा दिई हटाउने, जडिबुटी चोकबाट निर्माणाधीन मनोहरा पुलसम्म जानका लागि दुवैतर्फ सर्भिस लेन विस्तार गर्ने तथा कोटेश्वर चोकको उपयुक्त स्थानमा आकासेपुल निर्माण गर्ने योजना समेटिएका छन् ।
सरकारले विष्णुमती करिडोर, बाग्मती करिडोर, धोबीखोला करिडोर र मनोहरा करिडोरलाई व्यवस्थित र निर्माणलाई तिब्रता दिन जोड दिएको छ ।
सरकारले काठमाडौं उपत्यकाको सडक व्यवस्थापन गर्न सरकारले ट्राफिक जाम बढी हुने ५१ ठाउँमा सवारी साधनलाई दायाँ मोड्न निषेध गर्ने योजना लिएको छ भने १० ठाउँलाई वानवे बनाएको छ । अन्डरपास खुलेका सबै पुलमाथि ‘राइट टर्न’ गर्न निषेध गर्ने कार्ययोजनामा उल्लेख छ ।
यस्तै, सरकारले काठमाडौं उपत्यकाको सडक व्यवस्थापन गर्न थप १ सय २४ स्थानमा सिसिटिभी तथा मोबाइल सिसीक्यामरा जडान गर्ने योजना समेत लिएको छ । सरकारले काठमाडौं उपत्यकाका थप ११ ठाउँमा पोर्टेबल ओभरहेड ब्रिज (आकाशे पुल) निर्माण गर्ने योजना पनि बनाएको छ ।
सरकारको कार्ययोजना अनुसार कोटेश्वर चोक, भिएस निकेतन स्कुल अगाडि (नयाँ बानेश्वर), निजामती अस्पताल अगाडि (नयाँ बानेश्वर), नयाँ बानेश्वर चोक आसपास, काठमाडौं जिल्ला अदालत आसपास (बबरमहल), राष्ट्रिय अभिलेखालय अगाडि (रामशाहपथ), वल्र्ड ट्रेड सेन्टर अगाडि (त्रिुपुरेश्वर), कालिमाटी चोक, एयरपोर्ट चोक, थापाथली चोक र चाबहित चोकमा पोर्टेवल ओभरहेड ब्रिज निर्माण गरिनेछ । पुल निर्माण कार्य असार मसान्तभित्र सक्नु पर्ने समय सिमा तोकिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।