काठमाडौं । १५ वर्ष पुराना जहाजको आयातमा प्रतिबन्ध लगाउने गरी सरकारले हवाई नीति, २०७६ को प्रारम्भिक मस्यौदा तयार गरेको छ । यसअघि २०६३ सालको हवाई नीतिमा २० वर्ष पुरानासम्मका जहाज आयात गर्न दिने व्यवस्था रहेकोमा नयाँ मस्यौदामा त्यस्तो समय घटाइएको हो ।

मस्यौदामा ‘प्रेसराइज’ जहाजको हकमा १५ वर्षभन्दा पुरानो वा ‘इकोनोमिक डिजाइन लाइफ’ ५० प्रतिशत पूरा गरेको वा ३५ हजार ‘प्रेसराइजेसन साइकल’ पूरा गरेकामध्ये जुन पहिले आउँछ त्यस्तो जहाजको आयातमा प्रतिबन्ध लगाइने उल्लेख छ ।

यसअघि हवाई नीति २०६३ मा प्रेसराइज जहाजको हकमा १५ वर्षभन्दा पुरानो वा इकोनोमिक डिजाइन लाइफ ७५ प्रतिशत पूरा गरेको वा ४५ हजार ‘प्रेसराइजेसन साइकल’ पूरा गरेको जहाज आयातमा प्रतिबन्धको व्यवस्था थियो । ठूला आकार र धेरै उचाइमा उडान गर्ने जहाज प्रेसराइज जहाज हुन् ।

मस्यौदाले ‘प्रेसराइज’ नभएको हकमा पनि १५ बर्ष पुरानो जहाजको आयातमा प्रतिबन्ध लगाउने व्यवस्था उल्लेख गरेको छ । यसअघि २० बर्ष भन्दा पुराना जहाजलाई आयात गर्न नदिने व्यवस्था गरेको थियो । यस किसिमको जहाजमा त्यसको सम्पूर्ण रेकर्डको जाँच गरेरमात्र निर्णय गरिने व्यवस्था पनि राखिएको छ । खासगरि कम उचाइमा उडान गर्ने जहाज प्रेसराइज नभएका जहाज मानिन्छन् ।

मस्यौदामा नेपाल आयात भईसकेका तर उत्पादन मितिले १५ बर्ष पूरा गरेका जहाजका हकमा भने उडान स्वीकृति दिनुपूर्व ‘स्क्ट्रचरल इन्टिग्रिटी प्रोग्राम’ लागु गरेर मात्र उपलब्ध गराइने व्यवस्था गरिएको आजको गोरखापत्रमा प्रकाशित छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।