Wednesday, August 19, 2026
29.1 C
Kathmandu
Home मुख्य समाचार नेपाली सेनाका जवानले भेट्टाए एक लाख, रकम प्रहरीलाई बुझाइयो

नेपाली सेनाका जवानले भेट्टाए एक लाख, रकम प्रहरीलाई बुझाइयो

काठमाडौं । नेपाली सेनाका जवानले दमक नगरपालिका–६ स्थित गरिमा विकास बैंकको अगाडि भेट्याएको रु एक लाख प्रहरीलाई बुझाएको छ । पूर्वी पृतनाअन्तर्गत नं २१ बाहिनी अड्डामा कार्यरत नयाँ श्रीनाथ गणका जवान मेघबहादुर अधिकारीले एक हप्ता अघि फेला पारेको सो रकम इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको हो ।
नम्बर २१ बाहिनीपति सहायक रथी डा आशबहादुर तामाङका अनुसार सो रकम गरिमा विकास बैंक अगाडि बेलडाँगी सडक खण्डमा भेटिएको थियो । हालसम्म रकम हराउने व्यक्ति सम्पर्कमा नआएको हुँदा दमक इप्रकामा बुझाइएको उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले स्थानीय सञ्चारमाध्यमबाट र प्रहरीको फेसबुक पेजबाट सूचना जारी गरिरहेको बताउँदै भने, “आजसम्म कोही दाबी गर्न आएका छैनन् । प्रमाणसहित दाबी गर्न आएमा सो रकम फिर्ता गरिदिन्छौँ ।” उनले रकम दाबी गर्न कोही नआएमा कानूनबमोजिम जिल्ला प्रशासन कार्यालय झापामा बुझाइदिने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।