पुस २१ । सरोकारवालाहरुले दोलखा जिल्लाको लामाबगरमा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजना (तमाकोशी–२) निर्धारित समयमै निर्माण हुनुपर्नेमा जोड दिएका छन् । बढ्दो लोडसेडिङ र उर्जा संकटका सन्दर्भमा संबाद डवलीद्धारा आयोजित अन्तराक्रिया कार्यक्रममा उनीहरुले सो विचार ब्यक्त गरेका हुन् ।

पूर्व उर्जा मन्त्री डा. प्रकाश शरण महतले स्वदेशी, बिदेशी तथा स्थानीय स्तरको लगानीको प्रयोग गरी जलाशययुक्त आयोजना निर्माण गरेर मात्र नेपालमा लोडसेडिङ मुक्त बनाउन सकिने विचार ब्यक्त गरे । उनले भने, ‘यसरी बिद्युत उत्पादन गर्न सकेको खण्डमा अवको चार–पाँच बर्षमा नेपाललाई जलबिद्युतमा आत्मानिर्भर बनाउन सकिन्छ ।’

नेपाली काँग्रेसका नेता महतका अनुसार माथिल्लो तामाकोशीका सन्दर्भमा नेपाली काँग्रेस गौप्राणीका रुपमा रहेको छ । देशको विकास जलविद्युतबाट मात्र संभव भएको बताउँदै उनले गरिबी बाँडेर समाजवाद संभव नभएको पनि बताए ।
नेकपा (एमाले) दोलखा जिल्लाका सभाषद आनन्द पोखरेलले तामाकोशी जलबिद्युत आयोजना नेपाल सरकार र दोलखा जिल्लाबासीको उत्साहपूर्ण सहभागीतामा हुन लागेकाले निर्धारित समयमै निर्माण कार्य सम्पन्न हुनेमा आफु बिश्वस्त रहेको बताए । उनले सबै स्थानीय राजनीतिक दल र जनसहभागीतामा निर्माण कार्यले तिब्रता पाएको बताउँदै भने, ‘यस प्रकारका आयोजनाहरु देशका अन्य स्थानमा समेत संचालन गर्न सकेको खण्डमा युवा बिदेश पलायन हुनेमा कमी आउने पक्का छ ।’

नेता पोखरेलको विचारमा यदि दाताले दिएको ऋण र सहयोग सहि रुपमा सदुपयोग भएको खण्डमा माथिल्लो तामाकोशि जस्ता जलबिद्युत आयोजनाहरु निर्माण गरेर देशलाई लोडसेडिङ मुक्त बनाउन सकिने छ । तर उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय जलमाफियाहरुको चलखेल रोक्न सक्नु पर्नेमा जोड दिए । ‘कुनै प्रक्रियाले अवरोध खडा नभएको खण्डमा आगामी २०७१ को अन्त्यसम्ममा यो आयोजनाको निर्माण कार्य सम्पन्न हुनुको साथै जनताले यहाँबाट उत्पादित बिद्युत उपभोग गर्न पाउने छन्’ उनले भने ।

दोलखा जिल्लाका स्थानीयबासी एबम् ईन्जिनियर अनन्तबहादुर गुरुङले माथिल्लो तामाकोशी आयोजनाबाट ४५६ मेगावाट बिद्युत निर्माण हुने गरी यसको निर्माण कार्य २०६६ बाट सुरुआत भएको जानकारी दिए । यस आयोजनाको लगानी ३२ अरव रहेको जानकारी दिदै उनले कार्यपत्र प्रस्तुत गर्दै भने, ‘राजनीतिक दलहरुले पालैपालो जनताको लगानीमा बन्दै गरेको आयोजनाबाट आयोजना पदाधिकारीहरुलाई डर त्रास देखाई ठुलो धनराशी माग गरेको छ भने आयोजनाको काममा खटिएका ठेकेदारहरुलाई समेत अनावश्यक माग राखी भगाउने काम भएका छन् ।’

गुरुङले वास्तविकता र प्रायोजित चर्चामा लुकेको भेदलाई चिरफार गरेर आयोजनाको हितमा लाग्नु पर्नेमा जोड दिदै राजनैतिक दलहरुबाट आयोजना सम्पन्न गर्ने वातावरण बनाउन आग्रह पनि गरे ।

जलश्रोत बिज्ञ रत्नसंसार श्रेष्ठले माथिल्लो तामाकोशी जलबिद्युत आयोजना स्थानीय जनता र नेपाल सरकारको लगानीमा निर्माण कार्य सुरु भएको हुनाले यसको निर्माण कार्य समयमै सम्पन्न हुनेमा कुनै आशंका नगर्न आग्रह गर्दै यस्तै गरी माथिल्लो कर्नाली पनि स्वदेसी लगानीमा गर्नपर्नेमा जोड दिए । उनले नेपाल अध्यारो पारेर कुनै पनि हालतमा भारतलाई बिद्युत बिक्रि गर्न नहुने पनि बताए ।

संवाद डवलीका अध्यक्ष दीपेन्द्र रोकाया, कर्नाली जलाधार संरक्षण समाजका अध्यक्ष लोकबहादुर रावत लगायतले नेपाल सरकारले जलस्रोतको सही रुपले उपयोग गर्न सकेमा नेपाल लोडसेडिङ मुक्त मात्र होइन, विश्वको नमुना विकास कार्य अगाडि बढाउन सकिने विचार ब्यक्त गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।