पुस २० – समानुपातिकतर्फको सभासद छनोटलाई लिएर एमाओवादीका दुई पूर्वउपाध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध एकस्वरमा खनिएका छन् । दाहाल स्वेच्छाचारी भए भन्दै यी दुई नेता उनीविरुद्ध उभिएको  आजको कान्तिपुरमा खबर छ ।

दाहालको रवैयाकै कारण यी दुई नेतासहित तत्कालीन अर्का उपाध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा २०६८ साउनमा एक भएका थिए । धोबीघाट गठबन्धनु का नामले चर्चित त्यस प्रकरणले आफूलाई साँच्चिकै अप्ठ्यारो पारेको दाहाल स्वयंले सार्वजनिक रूपमै स्वीकारेका थिए । भट्टराई र श्रेष्ठबीचको अहिलेको रणनीतिक एकता धोबीघाट को सुरुआत हो के यी दुई नेताबीच दीर्घकालीन मोर्चाबन्दी सम्भव छ । प्रश्न उठ्न थालेको छ ।

निकट विगत हेर्दा र राजनीतिक, सैद्धान्तिक पक्षमा भिन्न मतका कारण यी दुई नेताबीच दीर्घकालीन मोर्चाबन्दी सहज देखिँदैन । किनकि, दाहालको पछिल्लो रवैयाका कारण पार्टी विभाजन नै गर्ने मनस्थितिमा पुगेका छन् भट्टराई ।

श्रेष्ठसँग मिल्दा र दाहाल पक्षका केही असन्तुष्टलाई साथ दिँदा पार्टीमा ४० प्रतिशत पुग्ने भएकाले सुरुमा दाहाललाई दबाब दिने नमाने पार्टीबाटै अलग्गिने गरी तम्सिएका थिए भट्टराई । तर उनको प्रस्तावमा श्रेष्ठ सहमत भएनन् । त्यसैले पनि यी दुईबीच तत्कालका लागि मात्र कार्यगत एकता भएको सहजै बुझ्न सकिन्छ, जुन सम्भवतः आसन्न केन्द्रीय कमिटी बैठकमा दाहालविरुद्ध खनिनुमा सीमित हुनेछ ।

पार्टी विभाजनमा भट्टराईलाई सघाउँदा उनले नेतृत्व पाउने होइन । उनका लागि भट्टराईभन्दा दाहालकै नेतृत्व सहज छ । किनकि, दाहाललाई त अहिलेसम्म नेता मानिआएकै छन् । श्रेष्ठले पछिल्लो समय आफूनिकटसँग अध्यक्षको रवैया यही रहे बरु पार्टीबाट एक्लै भए पनि बाहिरिने तर विभाजन गर्नेतिर नलाग्ने बताउन थालेका छन् । श्रेष्ठले पार्टी रूपान्तरणका लागि अहिलेको समय अन्तिम अवसर भएको, नभए पार्टी नै विघटन हुने सम्म हुन सक्ने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।