काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण ५० देशमा फैलिएको छ । पछिल्लो समय महामारीको रुप लिइरहेको यो भाइरसले अहिलेसम्म दुई हजार ८ सय ३२ जनाको ज्यान गएको छ ।
यो भाइरसका कारण चीनपछि इरानमा सबैभन्दा धेरै २६ जनाको ज्यान गएको छ । इटालीमा पनि १७ जनाको ज्यान गएको छ र ११ शहरका नागरिकलाई क्वारेन्टाइनमा राखेको छ ।
विश्वभर ७९ हजार एक सय ६७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसो त संक्रमणपछि निको हुनेको संख्या पनि निक्कै ठूलो नै छ । विभिन्न देशमा कोरोना भाइरस पुष्टि भएका ३६ हजार ६ सय ३३ जना उपचारपछि घर फर्किएका छन् । चीनमा मात्रै ३६ हजार एक सय ३६ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरस फैलिएपछि जापान र इराकले सबै स्कुल बन्द गर्न निर्देशन दिएका छन् । साउदी अरबले विदेशी तीर्थयात्रीलाई प्रवेशमा रोक लगाएको छ भने इरानले आफ्ना नागरिकलाई अनावश्यक घुमफिर नगर्न अपिल गरेको छ ।







