पुस १९ । सरकारी सेवासुविधा सरह तलब वृद्धिको माग गर्दै  नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल इस्टु चितवनले आजदेखि चितवनका सबै संस्थागत विद्यालय बन्दको आह्वान गरेको छ ।

 विगतमा प्याब्सनसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै इस्टुले अनिश्चितकालीन विद्यालय बन्दको आह्वान गरेको छ ।

इस्टुको आह्वानसँगै आजदेखि चितवनका १५९ विद्यालयका झन्डै सात हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ भने संस्थागत विद्यालयमा जारी आन्तरिक परीक्षासमेत अन्योलमा परेको छ ।

  इस्टु चितवनका अध्यक्ष विष्णुबहादुर भुजेलले आफूहरूसँग भएको सम्झौता कार्यान्वयन गर्नका  लागि दबाब दिने उद्देश्यले बाध्य भएर विद्यालय बन्दजस्तो अप्रिय निर्णय लिएको बताए।

 आन्दोलनरत शिक्षकहरूले १८ प्रतिशत तलबमा वृद्धि तथा एक हजार भत्ता उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् । शिक्षकहरूजस्तो बौद्धिक जमातले विद्यालय बन्द गराएको भन्दै सरोकारवालहरूले बन्द फिर्ता लिएर समस्याको समाधान खोज्न आग्रह गरेका छन् । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।