रौतहट । गरुडा नगरपालिकाको नगरसभा अवैधानिक रहेको निष्कर्ष निकाल्दै सर्वदलीय बैठकले खारेजीको माग गरेको छ । शुक्रबार गरुडामा बसेको बैठकले नगरप्रमुख इन्नु राय यादवले निषेधको राजनीति गर्दै एकलौटी रुपमा नगरसभा गरेकोमा आपत्ति जनाएको छ ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रतिनिधिको रुपमा बोल्दै प्रदेश २ का सांसद कुन्दन कुशवाहाले गरुडाका नगरप्रमुखको शैली निषेधको राजनीति गर्ने किसिमको रहेको भन्दै स्वीकार्न नसकिने बताए । उनले अवैधानिक नगरसभा तत्काल खारेज गरी वैधानिक तवरबाट सबैलाई समेटेर पुनः नगरसभा नगरेसम्म संघर्ष जारी राख्ने बताए ।
नगरपालिकाकी उपप्रमुख रंगीला देवी जयसवालले आफुलाई पतै नदिइ नगरसभा गरेकोले विरोध गरेको बताइन् । उनले उपप्रमुखसहित अन्य जनप्रतिनिधिलाई पेलेर गरिएको नगरसभा कुनै पनि हालतमा वैध मान्न नसकिने बताइन् । नगरसभा खारेज गरी नगरपालिकाको विकासको बाधक बनेका मेयर विरुद्ध कानुनी उपचार खोज्ने उनको चेतावनी छ ।
बैठकमा नेकपा प्रदेश २ का सदस्य तथा कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुश्वाहा, नेकपाका नगर अध्यक्ष श्याम सहनी, राजपा केन्द्रिय सदस्य हरिनारायण सहनी, कांग्रेसबाट निर्वाचिचत वडाध्यक्षहरु कृष्णकुमार सहनी, विशुनदेव सहनी, चुन्चुन साह, समाजवादी पार्टीका नेता तथा वडाध्यक्ष राजेश कुमार सहनी, राजपा नेतृ तथा नगर कार्यपालिका सदस्य सुशिला देवीलगायतको उपस्तिथि रहेको थियो । कांग्रेसबाट निर्वाचित उपमेयर रंगीला देवी जयसवालसहित ५ वडाअध्यक्ष, कार्यपालिका सदस्य सहित बहुमत नगरसभा सदस्यहरुको उपस्थिती रहेको छ ।