काठमाडौं । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमितको संख्या नेपालमा तीन पुगेको छ । बुधबार एक व्यक्तिमा कोरोनाको संक्रमित देखिएसँगै तीन पुगेको हो । जसमध्ये एक जनामा निको भएको छ भने दुई जनाको उपचार भइरहेको छ ।
राष्ट्रिय समाचार समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवको भनाई उदृत गर्दै थप एक जनामा बुधबार कोभिड–१९ पोजिटिभ देखिएको उल्लेख गरेको छ ।

बिबिसी नेपाली सेवाका अनुसार ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका हुन् । अहिले सङ्क्रमण भएको पुष्टि भएका व्यक्ति गत साता (चैत्र ६ गते) एअर अरेबियाको विमान चढेर स्वदेश फर्किएको बिबिसीले उल्लेख गरेको छ ।

अपराह्ण आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले धादिङ निवासी ती व्यक्ति ३२ वर्षीय भएको र उनी कतारबाट फर्किएको बताए । आज पत्रकार सम्मेलनमा ढकालले यस्तो जानकारी दिएका हुन् । *(स्वास्थ्य मन्त्रालयले ती युवक युएइबाट आएको बताएको छ । दिउँसो मन्त्रीले भनेको कुरोमा मन्त्रालयले साँझ एक वक्तव्य जारी गरी सच्याएको छ )

लोकान्तर डटकमले ती मानिसबारे अझै धेरै खुलासा गरेको छ । समाचारमा जनाइए अनुसार ती व्यक्ति युएईको दुबईबाट नेपाल आएका थिए । उनको घर धादिङ हो । उमेर भने ३२ वर्ष छ । नेपाल आइसकेपछि धेरै घुमघाम गरेको र होटलहरू तथा पार्टीमा समेत सामेल भएको समाचारमा उल्लेख गरिएको छ ।

कोरोनाको लक्षण देखिएपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए ।

अस्पतालले उनलाई आइसोलेसनमा राखेर स्वाब परीक्षणका लागि नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । उनमा कोरोनाभाइरसको संक्रमण रहेको पुष्टि पहिलोपटक गएराति १२ बजे भएको थियो । पुनः दोस्रो पटक उनको परीक्षण गर्दा पोजेटिभ नै देखिएको थियो ।
*अपडेट गरिएकाे

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।