३ वैशाखपछि नेपालमा के हाेला लकडाउन ? इटालीमा थपियो २१ दिन

काठमाडौं २९ चैत । विश्वभरी कोरोना भाइरस (कोभिड–१९) को महामारीले प्रभाव जमाइरहेको छ । त्यसैकाे एउटा मुख्य प्रभावित देश मध्ये इटालीमा २१ दिनका लागि लकडाउनको अवधी थप गरेको छ । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकमा जारी रहेको लकडाउनको समय मे ३ सम्मका लागि बढाउने निर्णय गरेका छन् । इटालीमा मार्च ९ मा पहिलोपटक मुलुकमा लकडाउनको घोषणा गरिएको थियो । यो लकडाउन अप्रिल ३ सम्मका लागि घोषणा गरिएको थियो । पछि यो लकडाउनको समय १३ अप्रिलसम्म लम्ब्याउने निर्णय गरिएको थियो

नेपालमा के होला ?
नेपाल सरकारले कोराना रोकथामका लागि ११ चैतदेखि एक साताका लागि लकडाउन घोषणा गरेको थियो । पुनः सरकारले एक साताका लागि थप्दै २५ चैतसम्म लकडाउन अवधी बढाएको थियो । तेस्रो पटक सरकारले लकडाउन अवधी बढाउँदै ३ वैशाखसम्म जारी राखेको छ ।

३ वैशाख नजिकिदैं गर्दा अब लकडाउन खुल्ला कि नखुल्ला भन्ने चिन्ता र चासो चौतर्फी देखिएको छ । त्यसो त सरकारले केही दिनअघि नै उपत्यकामा अलपत्र बसेकालाई २ दिन खुल्ला गरेर बाहिर जान दिने तयारी गरेको थियो । तर, प्रदेश सरकार र स्थानीय सरकारले विरोध जनाएपछि निर्णयबाट सरकार पछि हटेको थियो ।

अहिले एकथरीले ३ वैशाखपछि सम्भावित स्थानमा लकडाउन गरेर अन्य स्थान खुलाउनुपर्ने आवाज उठिरहेको छ । प्रदेश पाँचका मुख्यमन्त्रीले संक्रमणको उच्च जोखिम भएको स्थान बन्द गरेर अन्य खुलाउन सकिने तर्क गर्दै आएका छन् ।

कतिपयले विमानस्थल र भारतीय सिमा नाका बन्द गरेर लकडाउन खुलाउनुपर्ने बताउँदै आएका छन् । तर धेरै जसाे नागरिकले भने वैशाखभरी लकडाउन गर्नुपर्ने आवाज उठाइरहेका छन् । सरकारले भने ३ वैशाखपछि एक साता पुनः लकडाउन थपेर स्थिति हेरेर निर्णय गर्न योजना लिएको बुझिएको छ ।

नेपालमा खतरा उस्तै
कोरोना भाइरसको खतरा नेपालमा भने टरेको छैन । संक्रमित ९ मध्ये एक जना उपचारपछि घर फर्किएका छन् । अन्य ८ जनाको उपचार भइरहेको छ । सरकारले परीक्षण दू्त गतिमा गर्न नसक्दा एउटा खतरा अझै टरेको छैन । कोरोना संक्रमणको २१ पछि पनि देखिने गरेको अन्तराष्ट्रिय उदाहरणहरुबाट अझै नेपाल खतरामै रहेको देखाएको छ । दक्षिणी सिमाना खुल्ला रहेको र अहिले नै लकडाउन खोल्दा खुल्ला सिमानाबाट जो जतिबेला पनि आउन सक्ने र त्यस्तो व्यक्ति संक्रमित पनि हुनसक्ने खतरा रहेको छ । अन्तराष्ट्रिय उडान खुल्ला गरेको अवस्थामा नेपालमा झनै खतरा हुने देखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।