काठमाडौं । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीकै नेतृत्वमा कोरोना रोकथामका लागि उच्चस्तरीय संयन्त्र बनाउन गरेको प्रस्ताव सिँधै खारेज गरिदिएका छन् ।
प्रचण्डले एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीको नेतृत्वमा सबै दललाई समेटेर राजनीतिक संयन्त्र बनाउनुपर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले शनिबार कोभिड– १९ नियन्त्रण र रोकथामका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता नरहेको अभिव्यक्ति दिँदै प्रचण्डको प्रस्ताव खारेज गरिदिएका हुन् ।
प्रधानमन्त्रीले तीनवटै तहमा जनताबाट निर्वाचित सरकारले काम गरिरहेकाले कोरोना नियन्त्रणसम्बन्धी कामका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन नगरिने समेत जनाए । शनिबार सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँगको छलफलमा उनले संयन्त्र प्रस्तावको खुलेरै विरोध गरेका थिए ।

दुई अध्यक्षमा दुरी बढ्दो
पछिल्लो समय एउटै पार्टीका दुई अध्यक्षमा दुरी बढ्दो रहेको पाइएको छ । एक ठाउँमा बसेर अध्यक्षद्वयमा छलफल हुनुपर्ने विषय दुवै जनाले मिडियामार्फत अभिव्यक्ति दिन थालेका छन् । प्रचण्डले राजनीतिक संयन्त्र बनाउने विषय अर्का अध्यक्षसँग सल्लाह गर्दा पनि हुने विषय टेलिभिजनबाट अभिव्यक्त गरेका थिए । त्यसक्रममा उनले प्रधानमन्त्रीसँग खुलेरै कुरा गर्न चाहेको समेत बताए भने हालै बसेको पार्टी सचिवालय बैठकमा सचिवालय सदस्यहरुले अध्यक्षद्धयमा छलफल हुनुपर्यो भन्ने कुरो उठेको भन्दै उनले आफूले प्रधानमन्त्रीसँग खुलेरै कुरो चाहेको र उपयुक्त समयमा बोलाउन भनेको समेत खुलासा गरेका थिए ।
प्रधानमन्त्री ओलीले पनि प्रचण्डलाई बोलाएर दुई अध्यक्षको एउटै धारणा बनाउनको सट्टा मुख्यमन्त्रीहरुसँग राजनीतिक संयन्त्रको विरोध गरे । पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने विषयमा दुई अध्यक्षबीच विवाद रहँदै आएको थियो । त्यसलगत्तै प्रधानमन्त्री मृगौला प्रत्यारोपणका लागि हस्पिटल भर्ना भए । त्यसपछि झण्डै महिना दिनमा दुई अध्यक्षबीच २ पटक भेट भएको छ । उनीहरुबीच बाक्लो छलफल हुने, साझा धारणा बनाउने भन्दा पनि दुरी बढ्दो अवस्था रहेको पाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।