काठमाडौं १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको पद एक पटकका लागि जोगिएको छ । अध्यादेश फिर्ता नलिएमा उनलाई पार्टीका नेताहरुले हटाउनेसम्मको योजना गरेकोमा राजनीतिक दल र संवैधानिक नियुक्ति सम्बन्धी दुवै अध्यादेश फिर्ता लिएर ओलीले प्रधानमन्त्री पद जाेगाएका छन् । मन्त्रीपरिषदको सिफारिसमा गत ८ गते अनुमोदन भएका दुवै अध्यादेश १२ गते राष्ट्रपतिले खारेज समेत गरेकी छन् ।
प्रधानमन्त्री ओलीले अध्यादेश खारेज मात्र गरेनन् प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटारमा बोलाउन समेत तयार भए । यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक संयन्त्रको विषय उठान गर्दा ओलीले सिँधै जनताले मत दिएर सरकार गठन भएको भन्दै सरकारले सबै कुरा गर्ने बताउँदै आएका थिए । तर, पार्टीभित्र अप्ठ्यारो परेपछि उनले प्रतिपक्षी दलका नेतालाई बोलाएर छलफल समेत गरे ।
ओलीले पार्टीसँग सल्लाह नै नगरी एकलौटी निर्णय गर्न थालेपछि उनलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाएर अर्का नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउनेसम्मको तयारी भएको थियो । उनले राजनीतिक दल फुटाउन सहज हुने र संवैधानिक नियुक्ति सम्बन्धी अध्यादेश पार्टीका नेताहरुसँग छलफल नै नगरी ल्याएको र त्यसले पार्टी र सरकारको छवि बिग्रिएको भन्दै पार्टीका अधिकांश नेताहरू ओलीप्रति रुष्ट छन् । सचिवालय बैठकमा उनी विरुद्ध स्पष्ट बहुमत छ भने स्थायी कमिटी बैठक बोलाएर प्रधानमन्त्रीको राजीनामा माग गर्नेसम्मको तयारी भएको थियो । अहिले पनि स्थायी कमिटी बैठकको माग भइरहेको छ ।
सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको भैंसीपार्टीस्थित निवासमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यको बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले शुक्रबारसम्म अध्यादेश फिर्ता नलिए शनिबार स्थायी कमिटी बैठक बोलाउने र त्यस बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने तयारी थियो । ओलीले शुक्रबार नै अध्यादेश फिर्ता लिएपछि उनको तत्कालका लागि पद जोगिएको हो । नत्र, राजनीतिक संकट उत्पन्न हुने सम्मको स्थिति आउने आँकलन राजनीतिक विश्लेषकहरुले गरेका थिए ।
प्रचण्डसहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी थिए । यसरी ९ सचिवालय सदस्य मध्ये ६ जनाको सहमति जुटिसकेको थियाे भने बुधबार मात्र नेकपाका २० जना स्थायी कमिटी सदस्यले स्थायी कमिटी बैठक बोलाउन माग गरेर अध्यक्षद्वयलाई पत्र पठाईसकेका छन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित ४४ सदस्यीय स्थायी समितिमा ३० नेता ओलीको विपक्षमा छन् । यसरी पार्टीले बहुमतको आधारबाट प्रधानमन्त्रीलाई ओलीलाई जति बेला पनि फिर्ता बोलाउने तथा राजीनामा गर्न लगाउने स्थिति रहेको छ ।
यता, आफूलाई प्रधानमन्त्रीबाट हटाएर माधव नेपाललाई प्रधानमन्त्री बनाउने तयारी गरेपछि प्रधानमन्त्री ओलीले नेपाललाई फकाउने रणनीति अघि सारेका छन् । यसअघिको एक बैठकमा प्रचण्डसँग सामान्य कुरा गरेका ओलीले नेपालसँग निक्कै लामै राजनीतिक कुरा गरेर आफू नजिक हुन खोजेको सन्देश दिएका थिए । बिहीबार अध्यक्ष दाहालसंँग एक घण्टाभन्दा बढी समय छलफल गरेका प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग साढे दुई घण्टा कुराकानी गरेका थिए ।
अनि जोगियो एक पटकलाई ओलीको ‘प्रधानमन्त्री’ पद
Comments