काठमाडौं १८ वैशाख । प्रधानमन्त्री तथा नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा अर्थात कुर्सी छाड्न माग गरिएको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भने कुर्सी नै गायब भएको छ ।

बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन माग गरेका थिए ।

त्यहीँ बैठकमा प्रचण्डको कुर्सी भने गायब भएको हो । यसअघि प्रचण्ड ओली एउटै लहरका सँगै जोडिएका दुई कुर्सीमा बस्दै आएका थिए । बुधबार भने ओलीको मात्र अलग्गै कुर्सी राखियो भने प्रचण्डको त्यहाँबाट कुर्सी नै गायब गरियाे ।

आफ्नो विरोध गरेपछि ओलीले घुमाउरो पारामा प्रचण्डलाई अपमानित गरिएको हुनसक्ने धेरैले अनुमान गरेका छन् । नेकपाको बैठक संयुक्त अध्यक्ष प्रणालीमा सञ्चालन गर्ने नियम छ । पछिल्लो समय पार्टीको कामको जिम्मा प्रचण्ड र सरकारको कामको जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हुने गरी विभाजन गरिएको थियो ।

बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा भने प्रधानमन्त्री समेत रहेका ओलीलाई मात्र ‘सिङ्गल कुर्सी’ अर्थात छुट्टै कुर्सी राखिएको हो । एउटा अध्यक्षलाई अलग्गै कुर्सी राख्ने र अर्को अध्यक्षलाई अन्य सचिवालय सदस्य सरह राखेर अध्यक्ष प्रचण्डको अपमानित गरिएको आकलन पूर्वमाओवादी नेताहरुले गरेका छन् ।

बैठकमा अध्यक्ष ओलीको कुर्सी छुट्टै र अरूको एउटा लहरमा राखेपछि बुधबारको सचिवालय बैठकमा यस विषयमा कुरो समेत उठेको छ । कुर्सीको पोजिशनको विषयमा अध्यक्ष प्रचण्डले कुरो उठाएका थिए । तर, ओलिले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट नै राजीनामा दिनुपर्ने कुरो चर्काचर्की रुपमा उठेपछि कुर्सी पोजिशनको विषय छायामा परेको थियो ।

यसअघि, पार्टीको जिम्मा प्रचण्ड र पाँच वर्ष नै ओलीलाई सरकारको नेतृत्व गर्न दिने निर्णय भएको बैठकमा दुई अध्यक्षको एउटै लहरमा कुर्सी राखिएको थियो । त्यस समयमा नै पूर्वमाओवादी नेताहरुले पाँच वर्ष सरकारको नेतृत्व लिन फकाउनका लागि अध्यक्षको कुर्सी समेत आफूसँगै जोडेको भनेर टिप्पणी गरेका थिए । पछिल्लो पटक प्रचण्डले ओलीको आलोचना गरेपछि पुनः ओलीको मात्र अलग्गै कुर्सी राखिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।