काठमाडौं २५ वैशाख । अमेरिकामा मात्र हालसम्म कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउने संख्या ७४ हजार नाघेको छ । तर, त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्प भने राष्ट्रपतिय निर्वाचन नरोकिने भन्दै हिडिरहेका छन् ।

ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपतिको चुनाव स्थगित नहुने बताएका छन् । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसले सबैभन्दा बढी अमेरिकामा क्षति पुर्याएपनि ट्रम्प भने निर्वाचनतिर ध्यान दिने गरेको पाइएको हो ।

यद्यपी, उनले अमेरिकामा फैलिएको कोरोना भाइरसको संक्रमणलाई सबैभन्दा नराम्रो हमला भन्दै दोस्रो विश्वयुद्धको बेला जापानी बमवर्षक विमानबाट पर्ल हार्बर द्वीपमा भएको आक्रमण र वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमलाबाट भएको क्षतिसँग तुलना गरेका छन् ।

उनले चीनलाई आरोप लगाउन पनि छाडेका छैनन् । समयमै कोरोना संक्रमण रोकथामका लागि चीनले कदम नचालेकोले विश्वभर महामारी फैलिएको उनले आरोप लगाए । ‘हामी चीनसँग खुसी छैनौं । हाम्रो पूरै परिस्थिति खुसी छैन । किनभने यसलाई त्यहीँ रोक्न सकिन्थ्यो, जहाँबाट सुरु भएको थियो ।’ उनले पत्रकारहरुसँग भने ।
यता, अमेरिकामा पछिल्लो तथ्यांक अनुसार ७४ हजार ८ सयको निधन भएको छ भने साढे १२ लाखमा संक्रमण देखिएको छ । जसमध्ये २ लाख निको भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।