बुद्ध वचन अनुवाद समिति नेपालले आर्थिक अवस्था कमजोर भएका करिब ३०० विपन्नलाई भोजन दान गरेका छन् । समितिले २५६४ औँ बुद्धजयन्तीका अवसरमा बौद्ध, जोरपाटी, गोकर्ण तथा त्यस वरपर क्षेत्रका मजदूर र गरिबलाई लकडाउनका कारण काम नपाएर जीवन निर्वाह गर्न कठिन भएपछि खाना उपलब्ध गराएको हो ।
समितिका अध्यक्ष टीका शेर्पाले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन गरिएको लकडाउनमा दैनिक ज्याला मजदूरी गर्ने वर्गलाई समस्या भएकाले उनीहरुलाई खाना खुवाइएको बताए । उनले मजदूर, गरीब, शारीरिक अपाङ्गतालगायत २०० परिवारलाई एक महिना अगाडि खाद्य सामग्रीसहित राहत वितरण गरिएको जानकारी दिँदै त्यसका लागि करीब रु तीन लाख खर्च गरिएको बताए ।
उक्त समितिले बौद्ध, पशुपति, स्वयम्भूलगायत धार्मिकस्थलका पशुपन्छी एवं बाँदरलाई फलफूललगायत खानेकुरासमेत वितरण गरेको छ । पछिल्लो समयमा काठमाडौँ महानगरपालिकाका केही वडा, विभिन्न धार्मिक सङ्घसंस्था, समाजसेवीलगायतले आर्थिक अवस्था कमजोर भएका तथा विपन्न मानिसलाई समूहमा खाना खुवाउदै आएका छन् । महानगरपालिकाले नियम बनाएर वडाध्यक्षको संयोजकत्वमा राहत वितरण समिति गठन गरी स्थानीय टोल सुधार समितिसँग सहकार्य र समन्वयमा राहत वितरण गरेको भए पनि लक्षित वर्गले नपाएको गुनसोसमेत आउने गरेको पाइनछ ।
विपन्नलाई भाेजन दान
Comments






