काठमाडौं २८ वैशाख । नेपालमा पुनः एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उदयपुर, भुल्केका ४३ वर्षीय महिलामा सङ्क्रमण देखिएको जानकारी दिएका छन् ।

उनका अनुसार ती महिलाको विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा ११० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनले जानकारी दिएका छन् ।

यसअघि, शनिबार नेपालमा तीन जिल्लाका ७ जनामा कोरोना पुष्टि भएको थियो । नेपालमा अहिलेसम्म ३१ जना संक्रमित निको भएका छन् । जसमध्ये तीन जनामा भने पुनः संक्रमण देखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।