काठमाडौं । सरकारले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी भएका इपाससहितका सबै अस्थायी सवारी पास खारेज गरेको छ । गृह मन्त्रालयले मंगलबार अस्थायी पास खारेज गर्ने निर्णय गर्दै मातहतका निकायलाई बिहीबारबाट कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ ।

उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यकाका तीन जिल्लामा आवतजावत गर्न मिले पनि उपत्यकाबाहिर जान भने नपाइने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था भए उपत्यका बाहिरका जिल्लाहरुको हकमा पास जारी गर्ने जिल्लाले पुग्ने जिल्लाका प्रमुख अधिकारीको स्वीकृतिमा मात्र पास जारी गर्नुपर्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यका बाहिरका जिल्लाले काठमाडौं उपत्यका प्रवेशे गर्नका लागि पास जारी गर्नुपर्ने अत्यावश्यक भए गृहमन्त्रालयको स्वीकृतिमा मात्र पास जारी गर्ने निर्णय समेत गरिएको छ ।

यस्तै, पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्नाको प्रयोजन र पुष्ट्याई खुलाई पठाउने पर्ने छ भने काठमाडौं उपत्यका प्रवेशका लागि पास जारी गर्दा जारी पासमा गृह मन्त्रालयको स्वीकृति नम्बर समेत उल्लेख गर्नुपर्ने छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पास बिना एक जिल्लाबाट अर्को जिल्ला जाने गरी सवारी आवागमन भए गरेको पाइए तत्काल सुरु जिल्लाले नै अर्को जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।