काठमाडौं ३ जेठ । विश्वभरी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिनदिनै थपिदैं गएपछि सरकारले पास तथा सवारी आवतजावतमा थप कडाई गरेको छ ।
आजैदेखि लागू हुने गरी जिल्ला भित्रका पास खारेज गरेको छ । यसअघि एक जिल्लाबाट अर्को जिल्ला जाने पास खारेज गरिसकेको छ ।
सरकारले पत्रकार तथा मिडियाकर्मीका लागि आवत जावतमा नियम बनाएको छ । गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ– ‘‘सञ्चारकर्मिहरुको हकमा साविकमा रहेको प्रावधान ‘प्रेस पास प्राप्त सञ्चारकर्मीहरु’ लाई सवारी पास आवश्यक नपर्ने भन्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएकोले सोही बमोजिम हुने । सञ्चार गृहले अन्य प्रयोजनको लागि सवारी पास लिएको भए र अब पनि पुनः आवश्यक पर्ने भएमा बुँदा नं. २ बमोजिम हुने/गर्ने ।’
बुँदा नम्बर दुईमा अति आवश्यक काम पर्नेहरुलाई सवारी पास आवश्यक परेमा कारणसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखेर नयाँ सवारी पास लिन सकिने व्यवस्था छ ।

गृहको सूचनामा यहाँ प्रेस पास प्राप्त सञ्चारकर्मी भनिए पनि सूचना विभागबाट प्राप्त हो वा मिडिया हाउसबाट प्राप्त भन्ने ब्यहोरा खुलाइएको छैन ।
यसअघि, कतिपय ठाउँमा प्रहरीले सूचना विभागकै प्रेस पास खोज्ने गरेको छ भने कतिपय ठाउँमा मिडिया हाउसकै पासका आधारमा पनि आवत जावत गर्न दिँदै आएको छ ।







