काठमाडौं । नेपाल सरकारले भारतद्धारा अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटिएको नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

गत सोमबार मन्त्रीपरिषद बैठकद्धारा स्वीकृत नेपालको नयाँ नक्सालाई बुधबार दिउँसो औपचारिक रुपमा सार्वजनिक गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलनको आयोजना गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।

मन्त्री अर्यालले नेपालको अद्यावधिक नक्सा सार्वजनिक गर्दै सरकारसँग उपलब्ध प्रमाण र ऐतिहासिक तथ्यका आधारमा नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरिएको बताइन् । ‘सीमाका विषयमा सिंगो राष्ट्र एक ढिक्का भएको यो ऐतिहासिक घडीमा हाम्रो दृढ संकल्प र अटल आत्मविश्वासका साथ हामीले संकलन गरेका यथेष्ठ प्रमाणहरूका आधारमा यस अघि नक्सामा छुटाइएका भूभाग समेटेर अद्यावधिक नक्सा सार्वजनिक गर्ने बिन्दुमा आइपुगेका छौं ।’ उनले पत्रकार सम्मेलनमा भनिन् ।

अब नेपालको नक्सा प्रयोग भएका सबै सरकारी दस्तावेज एवं पाठ्यपुस्तकहरूमा नयाँ संस्करण बमोजिमका नक्साहरू प्रयोग गरिने भएको छ । ‘यो अद्यावधिक, राजनितिक, प्रशासनिक संस्करणको नक्सा छिट्टै वेब भर्सन र हार्डकपी दुवै प्रकाशनमा ल्याइने छ । अब उप्रान्त नेपालको नक्सा प्रयोग भएका सबै सरकारी दस्तावेज एवं पाठ्यपुस्तकहरूमा नयाँ संस्करण बमोजिमका नक्साहरू प्रयोग गरिनेछ ।’ मन्त्री अर्यालले भनिन् ‘म आम नक्सा प्रयोगकर्ताहरूमा अपिल गर्न चाहन्छु अब उप्रान्त सबैले यही नयाँ संस्करण बमोजिमको नक्सा प्रयोग गर्नुहुनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।