कैलालीको टीकापुर नगरपालिकाले गाई–भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ ।चालु आर्थिक वर्षमा ६० भन्दा बढी गाई भैँसीलाई सुत्केरी भत्ता वितरण गर्ने नगरपालिकाको पशु शाखाले जनाएको हाे । शाखा प्रमुख श्यामराज पाण्डेका अनुसार उन्नतजातका बाच्छी उत्पादन गर्ने कार्यक्रमअन्तर्गत किसानलाई गाई तथा भैँसीपालनमा प्रोत्साहन गर्नका लागि सुत्केरी भत्ता दिन थालेको छ । “किसानले दूध उत्पादनमा मात्र ध्यान नदिएर बाच्छीको स्याहारमा पनि ध्यान दिऊन् भनेर भत्ता उपलब्ध गराउन थालेका हौँ”, उनले भने, “ किसानलाई पशुपालनका लागि प्रोत्सहान र पशुको सम्मानका लागि भत्ता वितरण गर्ने नीति लिएका छौं ।”सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउनका लागि पनि यो कार्यक्रम प्रभावकारी हुने विश्वास उनको छ ।
सुत्केरी भत्ता पाउन किसानले गाई र बाच्छीको फोटो कार्यालयमा पेश गर्नुपर्छ । भत्ता निजी अस्पतालमा कृत्रिम गर्भाधान गरेको भए पनि पाउने व्यवस्था गरिएको छ । सेवा लिनका लागि कृत्रिम गर्भाधान गरेको प्रमाणचाहि पेश गर्नुपर्छ । टीकापुर–४ बाघमाराका गाईपालक किसान रत्नप्रसाद पोखरेलको गाईले यस वर्ष रु एक हजार सुत्केरी भत्ता पायो । “उन्नत जातको बाच्छी होस् भनी कृत्रिम गर्भाधान गरेका थियौँ”, पोखरेलले भने, “गाई सुत्केरी हुनेबित्तिकै एक हजार पाए । यसले गाईलाई आवश्यक पोषण खुवाउन सहयोग भयो ।”
कृषि शाखाले यसबाहेक पशुपालक किसानलाई अवलोकन भ्रमण, घाँसको बीउमा अनुदान, प्राविधिक सहयोग, पशु स्वास्थ्य शिविरजस्ता कार्य गर्ने गरेको छ । शाखाले यस वर्ष डालेघाँस, बहुवर्षीय घाँस, पौष्टिक आहारा वितरण कार्य गर्दैछ । “यो समय घाँस खेती गर्ने समय हो”, शाखा प्रमुख पाण्डे भने, “लकडाउनमा वितरणमा समस्या भएको छ । त्यसैले किसानलाई भेला गर्न कठिन छ । अब विकल्पको खोजी गर्दै वितरण गर्ने तयारी गर्दैछौँ ।”
पशुपालक किसान शिव थापा टीकापुर दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको बताए। ‘‘यहाँ व्यावसायिकरूपमा पशुपालनमा लाग्ने युवाहरुको सङ्ख्या बढ्दै गएको छ”, उनले भने, “किसानलाई प्रोत्साहन गर्ने कार्य भइरहेको छ तर यति मात्र पर्याप्त होइन ।” खेतीयोग्य जमिन प्लटिङ भएर किसानलाई घाँस उत्पादनमा समस्या हुने अवस्था आउन थालेको छ । स्थानीय सरकारले यस सम्बन्धी दीर्घकालीन नीति तथा योजना बनाउनुपर्ने उनको भनइ छ ।