संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले आफ्नी आमाको मृत्युपछि गरिने संस्कार (काजक्रिया)को खर्च कटाएर अक्षयकोष स्थापना गरेका छन् ।

अध्यक्ष गुरुङले गत वैशाख ७ गते मृत्यु भएकी ७७ वर्षीया आमा चिसकुमारी गुरुङको काजक्रियामा लाग्ने खर्च कटाएर आइतबार रु पाँच लाखको अक्षयकोष स्थापना गरेका हुन् । उनले विश्वव्यापीरूपमा फैलँदै गएको महामारीलाई ध्यानमा राखेर गुरुङ परम्परानुसार अन्त्येष्टिपछि गरिने अर्घौँको रकम कटाएर संस्कार समाजका नाममा रु पाँच लाखको अक्षयकोष स्थापना गरेको जानकारी दिए ।

“रु पाँच लाखको अक्षयकोषबाट आउने ब्याजबाट बर्सेनि समाजमा महत्वपूर्ण योगदान दिने प्रेरणादायी व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गर्नेछौँ”, उनले भने । अध्यक्ष गुरुङले बुबाआमाको समाज सेवाप्रतिको भावनाको कदर गर्दै उक्त अक्षयकोष स्थापना गरेको बताए । उनले विगत तीन वर्षदेखि ‘असल संस्कार सिकौँ सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नाराका साथ संस्कार समाज नेपालको स्थापना गरेर सामाजिक कार्य गर्दै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।