काठमाडाैं । लकडाउनका बेला देशभरबाट पौने २ लाख मानिस र सवा १ लाख सवारीसाधनलाई प्रहरीले नियन्त्रण लिएको छ । चैत ११ गतेबाट जारी लकडाउनमा अनुमतिबिना आउजाउ गरेको आरोपमा काठमाडौं उपत्यकासहित सातवटै प्रदेशस्थित प्रहरीले १ लाख ७५ हजार ९९ जनालाई नियन्त्रणमा लिएको थियो ।
उनीहरूलाई त्यही साँझ छाडिएको छ । यस्तै १ लाख २७ हजार ७ सय २१ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । अरू छाडिए पनि ९ हजार ६ सय ३४ वटा सवारीसाधन प्रहरी नियन्त्रणमै छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा १० हजार ५ सय १२ मानिस र १० हजार ३ सय ४० सवारीसाधन नियन्त्रणमा लिइएको थियो । प्रदेश २ मा ७ सय ९० मानिस र ११ हजार ४ सय १८ सवारीसाधन, वाग्मतीमा ६ हजार २ सय ४६ मानिस र १४ हजार ४ सय ३९ सवारीसाधन, काठमाडौं उपत्यकामा १ लाख १३ हजार ५ सय ४ मानिस र ६४ हजार ७ सय ३४ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । गण्डकी प्रदेशबाट ३५ हजार ३ सय १२ मानिस र ११ हजार ९ सय ११ सवारीसाधन नियन्त्रणमा लिइएको कान्तिपुरमा खबर छ ।
प्रदेश ५ बाट १२ सय ५९ मानिस र ८ हजार ६ सय ७८ सवारीसाधन, कर्णाली प्रदेशबाट ३ हजार ८ सय ७८ मानिस र २ हजार ३ सय ९९ सवारी तथा सुदूरपश्चिम प्रदेशबाट ३ हजार ५ सय ९८ मानिस र ३ हजार ८ सय २ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।







