काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउन जोड दिएका छन् ।
राष्ट्रियसभाको बैठकमा नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको दफावार छलफल भाग लिँदै नेता श्रेष्ठले यस्तो जोड दिएका हुन् ।
‘हामीले भनेका छौं त्यो भूभाग हाम्रै हो । हामीलाई प्राप्त हुनुपर्छ । त्यो भूभागमा बसेको भारतको सैनिक, प्रहरी, सुरक्षाकर्मीहरु सबै फिर्ता जानुपर्छ, र त्यस प्रकारको क्याम्पहरु त्यहाँबाट बन्द गरिनुपर्छ भन्ने हाम्रो दृढ अडान हो ।’ उनले भने ।
उनले लिम्पियाधुरा क्षेत्रका विषयमा देखिएका समस्या समाधान गर्ने उपाय वार्ता र संवाद नै भएको भन्दै भारत वार्ताका बस्न तयार हुनुपर्ने बताए ।
‘हामी बारम्बार भनिरहेका छौं वार्तामा बसौं, वार्तामा बस्न आतुर छौं र लगातार प्रयत्न गरिरहेका छौं’ नेता श्रेष्ठले भने, ‘भारत वार्तामा बसेर समाधान गर्न तयार हुनुपर्छ ।’ छिटो वार्तामा बसेर नेपाल र भारतबीचको सम्बन्धलाई नकारात्मक दिशामा जान नदिन उनले भारतलाई आग्रह गरे ।