११ मंसिर रासस, कञ्चनपुर । संविधानसभा निर्वाचनमा सुरक्षा प्रदान गर्न भर्ना गरिएका म्यादी प्रहरी घर फर्किन थालेका छन् ।
निर्वाचनलाई शान्तिपूर्ण वनाउन देशैभरि खटाइएका म्यादी प्रहरी आइतबारदेखि घर फर्किन थालेका हुन् ।

कञ्चनपुरका म्यादी प्रहरी घर फर्किसकेका छन् भने दार्चुला घर भई कञ्चनपुरमा कार्यरत अधिकांश म्यादी प्रहरी घर फर्किने तयारीमा जुटेका छन् । “चुनाव पनि सकियो, अब घरतिर लाग्यौँ”, दार्चुला घर भई कञ्चनपुरमा कार्यरत म्यादी प्रहरी सन्तोष बोहराले भन्नुभयो ।

म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले सरकारी नियमअनुसारको तलब भत्ता वितरणसमेत गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले सबै म्यादीलाई तलब वितरण गर्ने काम भइरहेको बताउनुभयो ।

“सरकारी नियमअनुसार म्यादी प्रहरीलाई तलब भत्ता वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “म्यादीको समयावधि भनेको डेढ महिना हो, जसअनुसार मङ्सिर १५ गते सबै म्यादी प्रहरीले अवकाश पाउँछन् ।” उहाँका अनुसार घरायसी कामले आइतबारदेखि नै म्यादी प्रहरी घर फर्किएका छन् ।
१ करोड ७७ लाख खर्च
संविधानसभा निर्वाचनमा म्यादी प्रहरीका लागि कञ्चनपुरमा १ करोड ७७ लाख २४ हजार रुपैयाँ खर्च भएको छ । प्रत्येक म्यादी प्रहरीलाई २८ हजारका दरले ६ सय ३३ जना म्यादी प्रहरीलाई १ करोड ७७ लाख २४ हजार रुपैयाँ वितरण गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक बिर्खबहादुर रावलले बताउनुभयो ।
“म्यादीका लागि सरकारी सुविधाअनुसार हामीले डेढ महिनामा एक जनालाई २८ हजार दिने गरेका छौँ”, उहाँले भन्नुभयो ।

सरकारले निर्वाचनमा शान्ति सुरक्षा प्रदान गर्न कात्तिक १ देखि मङ्सिर १५ गतेसम्मका लागि देशैभरि म्यादी प्रहरी भर्ना गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।