हेटौँडा उपमहानगरले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष खडा गर्दै कोरोना संक्रमणबाट मृत्यु भएमा ३ लाख रुपैयाँ राहत दिने भएको छ ।
बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौँडाले बुधवार आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै कोरोनाबाट मृत्यु भएकालाई ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।
कोरोना रोकथाम तथा उपचारक कोष एवं विपद् व्यवस्थापन कोषको लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । सातौं नगरसभामा उपप्रमुख मीना कुमारी लामाले २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् ।
‘हेटौँडाभित्र स्थायीरुपमा बसोबास गरी बस्ने नगरबासी कोरोनाबाट मृत्यु भएमा परिवारलाई कोषबाट ३ लाख रुपैयाँ राहतस्वरूप आर्थिक सहायता उपलब्ध गराइने छ’, बजेट उल्लेख छ । त्यस्तै दक्ष जनशक्ति र उपकरणसहित शहरी स्वास्थ्य केन्द्र सञ्चालनको लागि १ करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख लामाले जानकारी दिएकि छन् ।
हेटौँडा उपमहानगरले कोभिड–१९, सरुवा तथा नसर्ने रोग तथा महामारीको रोकथाम र नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरुको पर्याप्त परिचालन गर्ने जनाएको छ । यसैगरी, कोरोना महामारीको रोकथाम, नियन्त्रण र उपचारमा सेवारत् स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको मनोबल उच्च बनाउन प्रोत्साहन सुविधाको व्यवस्था गरिएको लामाले बताएकि छिन् ।