काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नियमित स्वास्थ्य परीक्षण गराएका छन् । उनी नियमित स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका थिए । त्यहाँ उनले मुुटुको जाँच गराएर निवास फर्किएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली अत्यावश्यक परीक्षण गरी बुधबार नै निवास फर्किएको जानकारी दिएका छन् । उनले प्रधानमन्त्रीले नियमित रूपमा मुटुको जाँच गराउँदै आएको र बुधबार पनि सोही प्रक्रियाअनुसार गंगालाल अस्पताल गएर जाँच गराएको जनाएका छन् ।

प्रधानमन्त्री ओलीको गत २१ फागुनमा त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

पार्टी र सरकारको कामका कारण प्रधानमन्त्री ओलीलाई पछिल्लो समय धपेडी बढेको छ । गत आइतबारदेखि जारी स्थायी कमिटी बैठकमा उनी सहभागी हुँदै आएका छन् । बुधबार बालुवाटारमै उनीसहितको उपस्थितिमा नेकपा स्थायी कमिटीको बैठक बसेको थियो । प्रधानमन्त्री ओलीले बुधबार बिहान पनि स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।